जनकपुर, २६ मंसिर । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर र अयोध्याको सम्बन्ध नङमासुजस्तै रहेको बताउँदै एक पटक जनकपुरधामको अवलोकन गर्नैपर्ने बताएका छन्।
मुख्यमन्त्री योगीले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेजस्तै २ नम्बर प्रदेशका जनताको मन जितेर फर्किएका छन् । बुधबार निजी विमानमा विवाहपञ्चमी महामहोत्सवमा जानकी मन्दिरमा पूजाअर्चना र दर्शनलगायत कार्यक्रममा सहभागी भई करिब ६ घण्टासम्म बसेका योगीले जनकपुरमा भारतलगायत विश्वभरका मानिसलाई अवलोकनको लागि आग्रह गरेका थिए ।
योगीले उत्तर प्रदेश र प्रदेश नम्बर २ को सम्बन्ध सामाजिक र सांस्कृतिक रुपमा बलियो हुँदाहुँदै पनि अब भौतिक पूर्वाधार र आर्थिक तवरले विश्वसामू चिनाउनुपर्ने बेला आएको बताएका थिए । । उनले भने, ‘भारतको आर्थिक विकासले नेपालमा सहयोग पुगोस् भन्ने हाम्रो सरकारको चाहना छ। हामी चाहन्छौँ- नेपालमा आर्थिक विकास, सुशासन र समृद्धि होस्। कनेक्टिभीमा नजिक रहेर काम गरौं।’
उनले मिथिला र अवध परम्पराबीच आपसमा प्राचीन सम्बन्ध रहेको उल्लेख गर्दै यसबाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउनुका साथै रोजगारीको सिर्जना गर्न सकिने बताए। उनले नेपाल-भारतको खुला सीमाना पनि बन्धुत्वको विश्वासले गर्दा नै कायम रहेको बताउँदै आगामी दिनमा पनि हाम्रो सम्बन्ध रोटी र बेटीको रहने बताए।
आफू स्वयम् जानकी मन्दिरमा आएर पवित्र पावनभूमिले गौरवान्वित महसुस गरेको भन्दै योगी आदित्यनाथले यो परम्परा विश्वको सबै हिन्दू श्रद्धालुमा भएको दाबी गरे। उनले भने, ‘कुनै यस्तो हिन्दु हुँदैन जसको हृदयमा अयोध्या र जनकपुरधामको तीर्थयात्रा गर्ने अभिलाषा हुँदैन। नेपाली र भारतीयलाई यिनै दुई पवित्र भूमिले एकसूत्रमा बाँधिदिएको छ।’