Logo

सभापतिलाई अनिर्णयको बन्दी बनाइएको छ, म देउवाको हनुमान होइन : लेखक



रमेश लेखक, नेता, नेपाली कांग्रेस
नेपाली कांग्रेसको महासमिति बैठक भोलीदेखि काठमाण्डौमा सुरु हुँदैछ । बैठकमा पेश गर्ने दस्तावेजबारे पार्टीका शीर्ष नेताहरुबीच अझै सहमति जुट्न सकेको छैन । पार्टीभित्र छलफल मात्रै जारी छ कि विवाद पनि भइरहेको छ भन्ने विषय चर्चामा छ । यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले कांग्रेसका नेता रमेश लेखकसँग कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

विधान संशोधनको विषयमा किन सहमति हुन सकेन ?
केन्द्रिय समितिको बैठकमा विधानको मस्यौदामाथि छलफल भयो । महासमिति बैठकमा प्रस्तुत हुने दस्ताबेजहरुमाथि पनि छलफल भयो । दस्तावेजलाई अन्तिम रुप दिने काममा लागेका छाँै ।

तर विधान संशोधन गर्दा केके विषय थपघट गर्ने भन्ने विषयमा किन सहमति हुन सकेन ?
विधानका केही विषयहरुमा अझै टुङ्गोमा पुग्न बाँकी छ । हिजो राति पनि सभापती देउवा, पौडेल, महामन्त्री लगायतका पदाधिकारीहरु बसेर धेरै विषयमा टुङ्गो लगाउनुभएको छ । आज दिनभरमा सबै विषयमा सहमति जुट्छ ।

विधानमा केके विषय संशोधन गर्दै हुनुहुन्छ ?
पार्टीको विधानलाई संविधान र संघीयताअनुसार मिलाउन खोजेका छौँ । संविधानअनुसार पार्टीको प्रतिनिधित्व सुनिश्चित गछौँ । पार्टीका विभिन्न निकायहरु गठन गर्ने । पार्टीको संख्या र निर्वाचन पद्धतिका विषयमा पनि विधान संशोधन हुन्छ । अरु पनि धेरै विषयमा परिवर्तन भएको छ । भोली सुरु हुने महासमिति बैठकमा संशोधित विधानको मस्यौदा पेश गर्छौ ।

चुनावमा पराजित भएपछि कांग्रेसमा गुट र विवाद बढ्दै गएको थियो । अहिलेसम्म पनि सभापति देउवामाथि आरोप लगाउन छोडिएको छैन । यस्तो अवस्थामा कसरी सहमति जुट्छ ?
पार्टीमा छलफल त भइहाल्छ नि । कांग्रेस भनेको त मुलुकलाई नेतृत्व दिने व्यक्तिहरुको संगठन हो । जिवित संगठनमा आन्तरिक जीवनलाई लिएर जिवन्त छलफल हुनु सामान्य कुरा हो । पार्टी संचालनको आन्तरिक प्रक्रिया र पद्धतिका बारेमा पनि छलफल हुन्छ ।

छलफलका नाममा नेताहरुबीच द्धन्द्ध र विवाद पनि भइरहेको छ नि ?
आफूलाई लागेका कुराहरु राख्दै गर्दा अरुको विचारहरु पनि बुझिन्छ । छलफलका क्रममा विवाद जस्तो देखिए पनि त्यसले समाधान पनि खोजेको हुन्छ । पार्टीको आधिकारिक निकायमा आफ्ना कुरा राख्ने विषयलाई प्रोत्साहन गर्नुपर्छ ।

सभापति देउवाको नेतृत्वमा पार्टी कमजोर भयो भन्ने धेरैको टिप्पणी छ । तर तपाई चाँही देउवाको हनुमान बनेर बसिरहने हो ?
नेताहरुले आफूलाई लागेका कुरा भन्नु सकारात्मक हो । आलोचना र प्रशंसा दुवै गर्नुपर्छ । पार्टी सभापतिजीले आफ्नो जिम्मेवारी र भूमिका पूरा गरिरहनुभएको छ । काम गर्ने क्रममा कतिपय ढलाई र कमजोरी भएका छन् । त्यसको दोष सबै सभापतिकै टाउकोमा मात्रै राख्न मिल्दैन । किनकी कतिपय विषयमा पार्टीभित्रैबाट सभापतिलाई अनिर्णयको बन्दी बनाइएको छ । अनुशासन समिति गठन गर्ने भनेर सभापतिले धेरै प्रयास गर्नुभयो तर उहाँलाई अरु नेताहरुले सहज बनाइदिनुभएन । यस्ता धेरै कुरा छन्, जसले सभापतिलाई अनिर्णयको बन्दी बनाएको छ ।

तर कांग्रेसमा गल्ती र कमजोरीको महसुस गर्न सक्ने नेता नै भएनन् नि । यस्तो नि पार्टी हुन्छ ?
कांग्रेस विग्रिनुहुँदैन । सशक्त प्रतिपक्षको भूमिका निभाउन सक्नुपर्छ । आगामी चुनावमा पहिलो पार्टी बनेर कांग्रेस सरकारमा जानुपर्छ । तर पार्टीभित्र केही समस्याहरु छन् । त्यस्ता समस्या समाधानका लागि नेताहरु जिम्मेवार बन्नुपर्छ ।

विधानको विषयमा पनि सहमति हुन्छ त ?
म दावीका साथ भन्छु, फरक मतसहित विधान महासमितिमा जाँदैन । सहमतिमै जान्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot