Logo

महासमिति बैठकको मुखमै देउवा र पौडेलबीच पानी बाराबार, कार्यकर्ता निराशा



काठमाडौं, २८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच महासमिति बैठकको मुखमै पानी बाराबारको स्थिति उत्पन्न भएको छ ।

पदाधिकारी संख्या र चयन प्रक्रियाबारेको विवाद थप पेचिलो बनेको छ ।महासमिति बैठकमा चार दस्तावेज केन्द्रीय समितिबाट सर्वसम्मत् पास भएर पेस हुने भएपनि विधान संशोधनको विषय भने टुंगिने संकेत देखिएको छैन ।

शनिबार उद्घाटन हुने महासमितिको बैठकमा सहभागी हुन देशभरबाट र विदेशबाटसमेत सदस्यहरु काठमाडौं आइसकेका छन् । शुक्रबार दिनभर केन्द्रीय कार्यालय सानेपामा महासमिति सदस्यहरुले नाम दर्ता गराएका छन् ।

नाम दर्ताका लागि केन्द्रीय कार्यालय पुगेका सबैजसो सदस्यहरुको चिन्ता पार्टी विधानमा शीर्ष नेताहरुबीच सहमति बन्यो कि बनेन भन्नेमै थियो ।जारी केन्द्रिय कार्य समिति बैठकमा हिजो दुई नेताबीच निकै चर्को स्वरमा आरोप प्रत्यारोप भएको थियो । सभापति देउवामाथि पौडेलले आरोपमाथि आरोप थुपारेपछि देउवा कडा रुपमा प्रस्तुत भएका थिए ।

त्यही भएर उनीहरुबीच आज बसेर प्रतिवेदनमा सहमति खोज्ने भेटवार्तापनि प्रभावित भएको छ । महासमिति सदस्यहरुले पार्टी प्रमुख नेताहरुको व्यक्तिगत स्वार्थ देख्दा लज्जाबोध भएको गुनासो पोख्न थालिसकेका छन् ।

महासमिति बैठकमा करिब १ हजार ६ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने भएका छन् । प्रमुख नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ हेरेर पार्टी संशोधित विधानका प्रस्तावित प्रावधानमा अहिलेसम्म सहमति गर्न सकेका छैनन् ।

यो विषयमा आज सभापति देउवा र बरिष्ठ नेता पौडेल बसेर सहमति कायम गर्ने भनिएको थियो । तर, दुवै नेताले एक अर्काको नामै सुन्न नचाहेपछि सहमति खोज्ने प्रयास विफल भएको थियो । तर, शीर्ष नेताहरुको प्रतितिनिधित्व दुवै पक्षका दोस्रो तहका नेताहरुले गर्दै सहमति खोज्ने प्रयास अहिलेपनि जारी छ । दुवै तर्फबाट अहिले तीन तीन जना नेताहरु एक ठाउँमा भेला भएर सहमति खोज्ने प्रयास गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्