पुष १, काठमाण्डौ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा पुष एक गतेलाई कालो दिवसका रुपमा मनाइन्छ ।
यस दिनलाई महेन्द्र जयन्ती एवं पञ्चायती संविधान दिवसका रुपमा सम्झने गरिन्छ । यही दिनलाई राजवादीहरुले भने उपलब्धिमुलक मान्ने गरेका छन् ।
२०१७ सालमा आजकै दिन तत्कालीन राजा महेन्द्रले दुई तिहाइ बुहमत ल्याएको नेपाली कांग्रेसको सरकारलाई अपदस्थ गरी एकदल्यि हुकुमी शासन लादेको हुनाले लोकतन्त्रवादीहरुले ‘कालो दिन’ मान्ने गरेका छन् ।
राजतन्त्रवादी एवं केही ‘राष्टवादी’हरुले पूर्वराजा महेन्द्रलाई राष्ट्रवादी धारका दुरदर्शी राजनीतिज्ञका रुपमा लिने गरेका छन् । पूर्वराजा महेन्द्र निरंकुश पञ्चायती व्यवस्थाको स्थापना गरेवापत जति आलोचित छन्, राष्ट्रियता र विदेश नीतकिा सम्बन्धमा त्यति नै बसहका पात्र बन्दै आएका छन् । मुलुकमा राष्ट्रियताको जग बसाउने र नेपालभित्र बढ्दो भारतीय प्रभावलाई हटाई मुलुकको सार्वभौमिकता जोगाउन महेन्द्रले निर्णयक भूमिका खेलेको भन्दै उनको प्रशंसा गर्नेहरु अहिले पनि धेरै भेटिन्छन् ।
तर, महेन्द्रले अवलम्बन गरेको ‘राष्ट्रवाद’लाई मण्डले राष्ट्रवादको संज्ञा दिनेहरुको पनि कमी छैन नेपालमा । महेन्द्रले तराईमा पूर्वपश्चिम राजमार्ग खनाएका थिए, जसको नाम महेन्द्र राजमार्ग राखिएको थियो । तराईमा महेन्द्रले पूर्व सैनिक एवं पहाडे समुदायका मानिसहरुको बसोबास गराएका थिए ।
यसो गर्दा जातीय सद्भाव बढ्ने महेन्द्रको तर्क थियो । सुस्तामा महेन्द्रका पालामा बसाबास गराईएका भूतपूर्व सैनिकका परिवारहरु अहिले पनि बसिरहेका छन् र उनीहरु मधेसी समुदायसँग मिलेर बसेका छन् । त्यसो त महेन्द्रले ०२० सालमा जंगबहादुरका पालाको मुलुकी ऐनलाई परिमार्जन गरी जातीय भेदभाव र छुवाछुतलाई गैरकानूनी घोषणा गरे ।
०२१ सालमा भूमिसुधार योजना लागु गरे । आफैं कवि समेत रहेका उनले कला, साहित्य, शिक्षा र भौतिक विकासमा महत्वपूर्ण भूमिका खेले । तर, ०१७ सालमा प्रजातन्त्र खोसेर निरंकुश व्यवस्था लादेको हुनाले उनले गरेको सम्पूर्ण सकारात्मक कामहरु समेत छाँया परेका छन् ।