पुष ३, काठमाण्डौ । सत्तारुढ दल नेकपाको स्थायी कमिटिको बैठक जारी छ । बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । त्यसैगरी बामदेव गौतमले पनि फरक विचारसहितको लिखित प्रतिवेदन पेश गरेका छन् । यसले नेकपाभित्र असन्तुष्टी बढेको हो कि भन्ने संकेत गर्छ । यिनै विषयमा केन्द्रित रहेर नेता योगेश भट्टराईसँग ऋषि धमलाले कुराकानी गरेका थिए ।
कुराकानीका क्रममा भट्टराईले बैठक तातोतातो भइरहेको बताए । लामो समयपछि बसेको बैठक भएकाले पनि बैठक तातेको उनको तर्क थियो ।
नेकपा राम्रोसँग संस्थागत भइनसकेको भन्दै उनले नेताहरु जिम्मेवार बन्नुपर्ने बताए । बामदेव गौतमको फरक प्रतिवेदनमाथि उनले मिश्रित प्रतिक्रिया दिएका छन् ।
फरक प्रसंगमा भट्टराईले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालमाथि गम्भीर आरोप लगाए । प्रधानमन्त्री निवास वालुवाटार बसेर गलत सल्लाह दिएको र अरु नेताहरुलाई हेप्ने गरेको भट्टराईको आरोप छ ।
चुनावका बेला केपी ओलीले तपाईलाई चुनाव जिताएर पठाएपछि मन्त्री बनाउँछु भनेर जनतासामु भन्नुभएको थियो । तर मन्त्री किन बनाउनुभएन ? भन्ने धमलाको प्रश्नमा भट्टराईले भने–“यस विषयमा मेरो भन्नु केही छैन । मन्त्री बनाउनुभएन, च्याप्टर क्लोज भयो । तर जनताले सोधिरहेका छन् । यो चाँही जनता जान्न चाहन्छन् । तर मलाई यस विषयमा केही भन्नुछैन । तीन जनाबाहेक सबै मन्त्री हाम्रै दलका हुनुहुन्छ । म भए जस्तै हो ।”
योगेश भट्टराईसँगको विस्तृत अन्तरवार्ता :