Logo

ओली सरकारको दश महिना : तुरुपबिनाको कलब्रेक हार्नु न जित्नु



पुष ३, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली गत फागुन ३ गते प्रधानमन्त्री बनिरहँदा कार्यकर्ता र जनमानसमा जुनप्रकारको उत्साह र उमंगल थियो, अहिले सरकार गठनको १० महिना पुग्दा त्यो उत्साह क्रमशः हराउँदै गएको छ । सरकारको आलोचना बढिरहेको छ ।

केपी ओली प्रधानमन्त्री बनेको मंगलबार १० महिना पूरा भएको छ । ओली सरकारले जनतामा उत्साह भरिराख्नका लागि खासै नौलो तुरुप फाल्न सकेको छैन । त्यसो त यसअवधीमा केही राम्रा कामको प्रयास नभएको होइन । पछिल्लो पटक सार्वजनिक गरिएको योगदानमा आधारित सुरक्षा योजनालाई त सरकारले नयाँ युगको सुरुवात नै भन्यो । तर उक्त कार्यक्रमले पनि अपेक्षा गरे जति लोकप्रियता पाउन सकेन । सत्तारुढ दलकै नेताहरुले सरकारको कामप्रति सन्तुष्टी व्यक्त गर्न सकेका छैनन् ।

नेकपाका झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम भीम रावललगायतका नेताहरुले सरकारको चर्को आलोचना गर्दै आएका छन् । अध्यक्ष पुष्पकमल दाहालले समेत सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै दबाब दिदै आएका छन् ।

तर प्रधानमन्त्री केपी ओली भने सरकारको विरोध गर्नेहरुलाई षडयन्त्रकारी भन्ने गर्छन् ।

केपी ओली नेतृत्वको सरकार ‘लो प्रोफाइल’ मा देखा पर्नुको एउटा महत्वपूर्ण कारण हो कमजोर र निरीह प्रतिपक्ष । प्रतिपक्षी वेञ्चमा बसेको नेपाली कांग्रेस ज्यादै कमजोर देखिएको छ । तर कांग्रेसले सरकारको आलोचना गर्न भने छोडेको छैन ।

राजनीतिक विश्लेषकहरुले पनि सरकारको काम सन्तोषजनक नभएको भन्दै बारम्बार आलोचना गर्दै आएका छन् ।

केही दिनअघि काठमाण्डौमा भएको एसिया प्यासिफिक सम्मेलनमा सरकार र प्रधानमन्त्रीको सहभागिले पनि आलोचना गर्ने ठाउँ दिएको थियो । गएको वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाबाट बहुमत हात पार्दै फागुन ३ गते ओली नेतृत्वमा गठन भएको सरकारले १० महिने कार्यकाल पूरा गरेको हो ।

तर यो १० महिने कार्यकालमा सरकार विगतको सरकारको निरन्तरताभन्दा फरक देखिएको छैन । संविधान अनुसार अहिले तीन तहको सरकार छ । संघीय व्यवस्था अंगिकार गर्दै स्थानीय, प्रदेश र केन्द्र सरकार गरी तीन प्रकारको सरकार सञ्चालनमा रहेको छ ।।



प्रतिक्रिया दिनुहोस्