पुष ४, काठमाण्डौ । विधानमा देखिएको समस्या समाधानका लागि बसनेको नेपाली कांग्रेस केन्द्रिय समिति बैठक विना निष्कर्ष सकिएको छ ।
विधानमा भएको विवाद समाधान हुन नसकेपछि भोली पुनः केन्द्रिय समिति बैठक बसेर सहमति खोज्ने नेताहरुको प्रतिवद्धता जनाएका छन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टी पदाधिकारी समावेशी हुनुपर्ने आवाज उठाएका थिए । शीर्ष तहमा सहमति जुटेपछि विधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन बुधबार कार्यसमिति बैठक बोलाइएको थियो ।
रामचन्द्र पौडेलले पेश गरेको कार्यतालिकामाथि विमलेन्द्र निधीले आपत्ति जनाएपछि आज साँझ बसेको केन्द्रिय समिति बैठक पनि उपलब्धिविहिन भएको हो ।
तर, पार्टी सभापति शेरबहादुर देउवा निकट नेताहरुले समावेशी हुनुपर्ने माग उठाएपछि विवाद भएको थियो । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले उपसभापति, महामन्त्री र सहमहमन्त्री २–२ जना राख्ने र सबै निर्वाचित गर्ने सहमति जुटाएका थिए ।
तर, देउवा पक्षीय नेताहरुले समावेशी हुनुपर्ने माग अघि सारेपछि रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहका नेताहरु भने सशंकित भएका छन् । विवाद र आशंका उब्जिएपछि नेताहरु बुधबार साँझ पुनः छलफलमा जुटेका थिए । नेतृत्वको विवादका कारण चार दिनका लागि काठमाण्डौ आएका महासमिती सदस्यहरु हैरान भएका छन् ।