पुष ९, काठमाण्डौ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा अनुसन्धानको लागि नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएका विशाल चौधरी शनिवार हिरासतमुक्त भए । तर १६ दिनसम्म प्रहरी हिरासतमा बसेका चौधरीले आफूलाई जागिर लगाइदिने प्रलोभन र ज्यान मार्ने धम्की दिएर निर्मलाको हत्या गरेको कबुल गर्न लगाएको आरोप लगाएका छन् ।
निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको १५० दिन बित्यो । तर नेपाल प्रहरी प्रमाण खोज्ने भन्दा पनि बयान खोज्दै हिडेको कारण निर्मलाको बलात्कारपछि हत्या गर्नेको पहिचान गर्न असफल छ ।
घटनामा संलग्न भएको आरोपमा पछिल्लो पटक पक्राउ गरिएका २ किशोरका कारण प्रहरी थप विवादमा परेको छ । पक्राउ परेका मध्ये विशाल चौधरीलाई प्रहरीले छाडिसकेको छ । उनले प्रहरीले हिरासतमा कुट्नेदेखि मार्नेसम्मको धम्की दिएको आरोप लगाएका छन् ।
गत मंसिर २० गते बिशाल चौधरीलाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले नियन्त्रणमा लिएको थियो । कञ्चनपुरबाट काठमाडौं ल्याएर उनको अनुसन्धान गरिएको थियो । तर उनलाई अनुसन्धानका क्रममा चियामा ल्ठ्याउने औषधी मिसाएर खुवाइने गरिएको तथ्य बाहिर आएकोे छ । यति मात्रै होइन आफुलाई प्रहरीमा जागीर लागाइदिने प्रलोभन समेत देखाउने गरेको बिशालको भनाइ छ ।
प्रहरीले अनुसन्धानको लागि भन्दै नियन्त्रणमा लिएका अर्का किशोर प्रदीप रावललाई भने अझै रिहा गरेको छैन । प्रहरीले दुवै जनाको डिएनए परीक्षणसमेत गराएको थियो । तर दुवैको डिएनए निर्मलाको भेजिनल स्वाबबाट निकालिएको पुरुष डिएनएसँग पनि मिलेन । यद्यपि डिएनएको रिपोर्ट प्रहरीले आधिकारिक रुपमा अझै सार्वजनिक गरेको छैन ।
कहिले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई हिरासतमा राखेर ज्यान मार्ने धम्की दिदै कवुल गराउनु त कहिले निर्दोस व्यक्ति समातेर बिभिन्न प्रलोभन देखाउनु, हप्काउनु र ज्यान मार्ने धम्की दिनुले नेपाल प्रहरीको छबी त धमीलियो नै । सर्वसाधारलाई प्रहरीप्रतिको बिश्वास पनि हराएको छ ।
दोषी पत्ता लगाएर निर्दोसलाई न्याय दिनु प्रहरीको धर्म हो । तर यहाँ त ठूलाबढाका छोराहरु जोगउन गरिव निमुखा छोराहरु समातेर थुन्ने, धम्काउने गरिदैदैछ । के यो सरकार ठुलाबडाको मात्रै हो ? के प्रहरीको धर्म यही हो ? गृहमन्त्री र प्रहरी प्रमुखलाई कञ्चनपुरवासको प्रश्न हो यो ।