Logo

स्वर्ण पदक विजेता बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत (फोटोफिचर)



काठमाडौँ,१० पुस । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका बडि बिल्डर महेश्वर महर्जनको भव्य स्वागत गरिएको छ ।

थाइल्याण्डको चाङमईमा भएको १० आँै विश्व च्याम्पियनसीपमा स्वर्ण जितेर मंगलबार नेपाल फर्किएका महर्जनलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका पदाधिकारीले भव्य स्वागत गरेका थिए ।

उक्त अवसरमा उपाध्यक्ष तिम्सिनाले राष्ट्रका लागि पदक जित्न सफल खेलाडी महर्जनलाई सरकारका तर्फबाट उचित सम्मान गरिने विश्वास दिलाए । उनले भने,“पदक विजेता महर्जनलाई हामी उचित पुरस्कारद्वारा सम्मान गछौँ ।’

पदक विजेता महर्जनले देशको नाम उच्च स्थानमा राख्न पाउँदा आफू निकै भावुक बनेको प्रतिक्रिया दिए । “विदेशी भूमिमा एक्लो भएर हर्षका आँशु आएको थियो” पदक जिते लगत्तै हर्षित मुद्रामा आँशु बगाएका महर्जनले विमानस्थलमा सञ्चारकर्मीसँग भने ।

“अन्तर्रा्ष्ट्रिय मञ्चमा नेपालका लागि पदक जित्न सफल भएको छु, आफूलाई गौरवको महसुस भएको छ”, महर्जनको भनाई छ । बडि बिल्डिङमा धेरै खर्च हुने गरेको बताउँदै महर्जनले प्रतियोगिताका लागि मात्र आफूले आठ÷नौ लाख खर्च गरेको जनाए ।

यही पुस १ गते थाइल्याण्डमा सम्पन्न बल्र्ड बडी बिल्डिङ एण्ड फिजिकल स्पोर्टस् च्याम्पियनसीपमा महेश्वरले ७५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका थिए ।

विश्व च्याम्पियनसीपमा नेपाली बडीबिल्डर विजेता बनेको यो पहिलो पटक हो । यसअघि श्याम श्रेष्ठले रजत पदकसम्म जितका थिए । च्याम्पियनसीपको पुरुष ७५ केजीमा महर्जनले भारतका खेलाडीलाई पछि पार्दै स्वर्ण जितेका हुन ।

बाह्र खेलाडी सहभागी उक्त प्रतिस्पर्धामा भारत दोस्रो र सिङ्गापुर तेस्रो भएको थियो । महर्जनको स्वागतमा विमानस्थलमा नेपाली समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्