पुष ११, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले सरकारलाई अहिले नै असफल भयो भनेर टिप्पणी गर्न नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उनले संघीयता कार्यान्वयनको चरणमा भएकाले सरकारले सोचेजस्तो काम गर्न नसकेको टिप्पणी गरे ।
“सरकार अहिले अभ्यास गरिरहेको छ । यस्तो बेला कहाँ समस्या र चुनौति आउँछ भन्न सकिदैन । सबल र दुर्वल पक्षहरु सबै केलाउँदै भावी दिनमा जनताको सेवा गर्ने सवालमा कति प्रभावकारी हुन्छ भन्ने कुरा हेर्न बाँकी छ ।” गुरुङले भने ।
भविष्यमा सरकारको काम कारबाहीमा सुधार आउने उनको विश्वास छ । अहिलेको समयमा प्रतिपक्षी दल कांग्रेसले पनि रचनात्मक भूमिका खेल्नुपर्ने गुरुङले बताए ।
“प्रमुख प्रतिपक्षी भएकाले कांग्रेसले खबरदारी गर्नुपर्ने हुन्छ । सतर्कता अपनाउनुपर्ने हुन्छ । तर राष्ट्रिय महत्वको विषयमा सहमति खोज्नुपर्छ ।” उनले भने ।
नेकपाभित्रको आन्तरिक विवादबारे गुरुङले दुई फरक पार्टीको एकता भएकाले विचारमा फरकपन आउनु स्वभाविक भएको बताए ।
सचेतक गुरुङले आजदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा संविधानअनुसारका ऐन नियम परिमार्जन र निर्माण तिब्रताका साथ अगाडि बढाइने जानकारी दिए ।