Logo

भवन हस्तान्तरण नहुँदा गोठबाटै स्वास्थ्य सेवा



काठमाडौँ,१२ पुस । बाजुराको विकट क्षेत्रमा पर्ने साप्पाटा स्वास्थ्यचौकी भवन नहुँदा एक गोठमै स्वास्थ्य सेवा सञ्चालन हुँदै आएको छ । नयाँ भवन निमार्ण भएको एक वर्षसम्म पनि हस्तान्तरण गर्न ढिलाइ गरिएकाले स्वास्थ्यचौकी गोठमै सञ्चालन हुँदै आएको हो ।

ठेकेदारले समयमै काम सम्पन्न गरी स्वास्थ्य संस्थालाई भवन हस्तान्तरण नगरेकाले गोठमै बसेर सेवा दिनुपर्दा स्वास्थ्यकर्मी र बिरामीलाई असहज भइरहेको छ ।पाँच वर्षभित्र भवन सञ्चालन गरिसक्नुपर्नेमा भवन निर्माण भएको एक वर्ष बितिसके पनि अहिलेसम्म हस्तान्तरण नगरिएको स्वास्थ्यकर्मीको गुनासो थियो ।

मौसमी बिरामीको चाप बढिरहेको छ । स्वास्थ्यचौकी व्यवस्थित छैन । गोठमै भए पनि सेवा दिइरहेका छौँ अहेव सरिता चौधरीले भन्नुभयो । स्वास्थ्यचौकीको कार्यालय सानो गोठमा हुँदा स्वास्थ्य सामग्री राख्नसमेत गाह्रो भएकोे व्यवस्थापक मानबहादुर विकले बताउनुभयो ।

गोठलाई जति सफा गरे पनि माथीबाट धुलोे खसेपछि भुइँमा राखेको औषधि फोहर हुने र अप्ठेरो ठाउँ भएपनि आफूहरूले बिरामीलाई सकेसम्म राम्रै सेवा दिइरहेको अहेव चौधरीको भनाइ थियो । उक्त स्थानमा व्यवस्थित शौचालय तथा खानेपानीको पनि अभाव छ ।

पहिलो बालमैत्री वडा घोषणा

त्रिवेणी नगरपालिका १ र २ साविक छतारा गाविसलाई बालमैत्री वडाका घोषणा गरिएको छ । बालमैत्री स्थानीय स्वायत्त शासन ऐनमा उल्लेखित सबै सूचक पूरा गरेपछि जिल्ला समन्वय समितिको सिफारिशमा बुधबार आयोजित औपचारिक कार्यक्रममा बुढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाह र त्रिवेणी नगरपालिकाका प्रमुख रामसिंह रावलले संयुक्तरुपमा ती दुवै वडालाई सुदूरपश्चिम प्रदेशकै पहिलो बालमैत्री वडाका रुपमा घोषणा गर्नुभएको हो ।

बालबाललिकाको जन्म, खोपको सबै चरणको सुनिश्चितता, निकृष्ट बालश्रम उन्मूलन, विद्यालयमा छात्रामैत्री शौचालयको व्यवस्था, आधारभूत तहको शिक्षाको अवसरमा सबैको सहभागिता, स्थानीय निकायको निर्णय प्रक्रियामा बालबालिकाको सहभागितालगायत १६ वटा बालमैत्री स्थानीय शासनका खुट्किला र ३९ सूचक पूरा गरेपछि नगरपालिकाले बालमैत्री वडा घोषणा गरेको उपप्रमखु राधिका सुनारले बताउनुभयो । वडाभित्र रहेका १८ वर्षमुुनिका दुई हजार ३८० बालबालिकालाई बालमैत्री स्थानीय शासनका ३९ सूचक पुरा गराउन वडामा सेभ द चिल्ड्रेन, पीसविनको सहयोग रहेको वडा नं २ का अध्यक्ष प्रभुराज जोशीले जानकारी दिनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot