पुष १९, काठमाण्डौ । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका रेमश चौधरीले सिंहदरबार पुगेर सांसद पदको सपथ लिएका छन् ।
सभामुख कृष्णबहादुर महराले चौधरीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । डिल्लीबजार कारागारबाट प्रहरीले उनलाई सिंहदरबार ल्याएको थियो ।
चौधरीलाई सपथ लिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसको विरोध जनाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई शपथ दिइनुले कानुनी राज्यको खिल्ली उडेको भन्दै आपत्ति जनाउका हुन् ।
चौधरीलाई सपथ गराएकोमा नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले आपत्ति जनाएको छ । हत्या आरोपमा दोषी देखिएका चौधरीलाई सपथ गराउनुले कानूनी राज्यको उपहास भएको उसले बताएको छ ।
महासचिव भुपेन्द्र जंग शाहीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘२०७२ भाद्र ७ गते टीकापुरमा भयको निर्मम र बर्बरतापूर्ण हत्याकाण्डमा मारिएका सात जना सुरक्षाकर्मी र नाबालकको हत्याको मुख्य दोषीको रुपमा कारबाही गर्नुको साटो उल्टै सम्मानस्वरुप सपथ गराउने कार्यले शान्ति सुरक्षा, दण्डहीनता र कानुनी राज्यको उपहास गरेको छ ।’
संविधानविदहरूले पनि चौधरीलाई शपथ ग्रहण गराउनु संविधानविपरित भएको प्रतिक्रिया दिएका छन् ।
निर्वाचित भएलगत्तै शपथ गराउन नमिल्ने तर अहिले मिल्नुको कारण के हो भनेर संविधानविद्हरुले प्रश्न गरेका छन् ।
चौधरीले स्वयमले भने सपथ खुवाएपछि जेल किन पठाउने भन्दै प्रश्न गरेका थिए । शपथ लिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनियुक्त सांसद चौधरीले आफु टीकापुर घटनाको दोषी भए कारबाही भोग्न तयार भएको बताएका छन् ।
चौधरीले भने, ’मलाई लाग्छ न्यायलयले न्याय दिनुपर्छ । स्पष्ट छानविन हुनुपर्छ । दोषी उम्किनु हुँदैन । मैले कहिले दोषी उम्किन पर्छ भनेको छैन ।’
संसद सचिवालयमा सभामुख कृष्णबहादुर महरासँग सपथ लिएपछि उनले सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरेका हुन् ।
यता उपप्रधानमन्त्री एवं स्थास्थ्यमन्त्री उपेन्द्र यादवले त चौधरीलाई जेलमुक्त गर्नुपर्ने माग गरेका छन्े ।
हाल जेलमा रहेका सांसद चौधरीमाथि लागेको मुद्दा राजनीतिक भएकाले उनलाई रिहा गरेर राजनीतिक समझदारीका आधारमा हल गरिनुपर्ने मन्त्री यादवको तर्क छ ।
सरकारका प्रवक्ता तथा मन्त्री गोकुल बास्कोटाले पनि जनताले जिताएर पठाएपछि रेशम चौधरीको सपथ स्वाभाविक भएको टिप्पणी गरे ।
बास्कोटाले भने, ‘टीकापुर घटना सबैलाई थाहा छ । कानुनअनुसार चुनाव लड्नुभयो, जनताले जिताए । जिताएपछि सपथ स्वभाविक हो ।’
टीकापुर घटनामा प्रहरीले खोजी सूचीमा राखेपछि फरार चौधरीले वारेसमार्फत् राष्ट्रिय जनता पार्टीबाट उम्मेदवारी दिएका थिए । चौधरी ३४ हजार ३४१ मतसहित विजयी भएका थिए ।
२०७२ भदौ ७ गते मधेश–थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा जनपथ प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित आठ जना प्रहरी र एक जना बालक मारिएका थिए । यस घटनापछि सुरक्षाकर्मीको यातनाबाट एक जना थारु पनि मारिएका थिए । सुरक्षाकर्मी नै मारिए पछि ८५ भन्दा बढी थारुहरुको घर जलाइएको थियो भने दर्जनौं थारुहरु विस्थापित भए ।