पुष २३, काठमाण्डौ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. मिनेन्द्र रिजालले संसद संचालन नियमावलीविपरित सांसदले प्रश्न सोध्न पाइदैन भनेर सभामुख कृष्णबहादुर महराले गलत गरेको बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै रिजालले संसदमा सांसदलाई प्रश्न गर्ने अधिकार भए पनि सभामुखले मनलाग्दी गरेको बताएका हुन् ।
सांसदलाई प्रश्न सोध्नका लागि सभामुखले अनुमति दिनुपर्ने व्यवस्था प्रक्रिया मात्रै भएको तर सभामुखले आफूखुशी गर्न खोजेको उनको आरोप छ ।
प्रधानमन्त्री केपी ओलीेले पनि सांसदको प्रश्नको जवाफ दिन्न भन्न नमिल्ने रिजालको जिकिर छ ।
फरक प्रसंगमा रिजालले राष्ट्रपति विद्यादेवी भण्डारी विलासी बन्न खोजेको आरोप लगाए । “१८ करोडको गाडी चढेर गणतन्त्र बलियो हुँदैन । हिजोको राजा महाराजाले भन्दा बढि सुविधा चाहिने ? डेड अरबको हेलिकप्टर लिएर कोदोबारी घुम्ने ?” रिजालले भने ।
यद्यपी राष्ट्रपति भण्डारीले सरकारले दिएको सुविधा प्रयोग गरेकोले दोष सरकारको भएको बताए ।