माघ ४, काठमाण्डौ । नेपाली नागरिकले कानुनतः विदेशमा लगानी गर्न पाउँदैनन् । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ ले नेपालीलाई विदेशमा कुनै पनि प्रकारको लगानी गर्न निषेध गरेको छ । तर, यस विपरीत ५५ नेपालीले विदेशमा लगानी गरेको भेटियो । यो खुलासापछि एक किसिमको तरङ्ग पैदा भएको छ ।
विदेशमा लगानी गर्ने नेपालीलाई नेपाल सरकारले कस्तो नियमन गर्न सक्छ भन्ने प्रश्न उब्जिएको छ ।
अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपाली नगरिकले विदेशमा खाता खोल्नै नपाउने नियम नभए पनि खातामा भएको पैसाको स्रोत भने सरकारले खोज्नुपर्ने बताए ।
“खाता खोल्न पाइन्छ । तर के कारणले के कामका लागि खाता खोलिएको भन्ने कुरा पत्ता लगाउनुपर्छ । विदेशमा भएको पैसाको स्रोत खुल्नुपर्छ ।” अधिकारीले भने ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अधिकारीले विश्वमा ट्याक्स हेवन देशहरु धेरै भएकाले यसरी पैसा लुकाउन सहज भएको पनि बताए ।
तर नेपालीहरुले नै आफूसँग भएको पैसा अरु देशमा लगेर लगानी गरेको विषयलाई सरकारले गम्भीर रुपमा लिनुपर्ने अधिकारीको तर्क छ ।
“यो विषय गम्भीर हो । राज्यले खोजी गर्नुपर्छ ।” उनले भने ।
नियमअनुसार नेपाली नागरिकले विदेशमा लगानी गर्न नपाइने व्यवस्था रहेको अधिकारीले बताए ।