काठमाडौं, ५ माघ । अर्थविद् डा. डिल्लीराज खनालले स्विस बैंकमा नेपालीहरुले कसरी यत्रो पैसा जम्मा गरे भन्ने कुरा सरकारले अध्ययन गर्नुपर्ने बताएका हुन् । स्विस बैंकमा पैसा जम्मा गर्दा गोपनियता सुरक्षित भएर नै पैसा जम्मा गरेको हुनसक्ने उनले बताए । तर, पछिल्लो समय विश्वभरिबाट दबाब आएका कारण क कसको पैसा जम्मा छ भन्ने कुरा सुचना बाहिर आउन थालेकोले अहिले तरंग पैदा भैरहेको खनालले जनाए ।
शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनको लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा खनालले यस्तो बताएका हुन् । पछिल्लो समय नेपालमा समानान्तर अर्थतन्त्र पनि मौलाईरहेको उनको भनाई छ । उनले थपे,”त्यसको बाई प्रडक्ट भन्नुहोस् वा बाहिर अवैद्य पैसा राख्ने स्थिति बनेको छ ।”
यदि यही ढंगको पैसा बाहिरिएको हो भने यसप्रति सरकारको ठूलो चासो हुनुपर्ने उनको भनाई छ । खनालले भने,”सरकारले अब यस्तो प्रवृत्ति रोक्नेतर्फ आवश्यक कदम चाल्नुपर्छ ।”