Logo

चिकित्सा शिक्षा विधेयक आज पेश हुँदै, संसदमा भिडन्तको संकेत !



माघ ७, काठमाण्डौ । आज बस्ने प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गर्ने तयारी गरिएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेसको विरोधकै बीच सरकारले विधेयक पेस गर्न लागेको हो ।

प्रतिनिधिसभा बैठकको आजको सम्भावित कार्यसूचीमा चिकित्सा शिक्षा विधेयक राखिएको छ । विधेयक पेस गर्ने या नगर्ने भन्ने अन्तिम निर्णय भने कार्य व्यवस्थाले लिनेछ । नेकपाका नेता योगेश भट्टराईले पनि सोमबारको बैठकमा विधेयक पेश हुने जानकारी दिएका थिए ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै भट्टराईले डा. गोविन्द केसीको माग पूरा हुने गरी आज विधेयक पेश गरिन बताएका थिए ।

अनसनरत डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गरेर मात्रै विधेयक संसदमा प्रस्तुत गर्नुपर्ने तर्क प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको छ । विगतमा आफूसँग भएका सहमतिविपरित विधेयक ल्याइएको विरोधमा डा. केसीले अनसन जारी राखेका छन् ।

गत साउनमा उपत्यकाबाहिरका विभिन्न स्थानमा सरकारी मेडिकल खोल्नेलगायत बुँदामा सरकार(केसीबीच सम्झौता भएको थियो । तर, प्रमुख प्रतिपक्ष कांग्रेस र केसी दुवैले विगतमा भएका सम्झौताबाट पछि हट्दै सरकारले विधेयक तयार पारेको आरोप लगाएका छन् ।

अनसन र प्रतिपक्षको मागकै बीच सरकारले विधेयक पास गर्ने रणनीति बनाएपछि प्रमुख प्रतिपक्ष दल भने त्यसलाई अघि बढ्न नदिने तयारीमा छ ।

जबरजस्त विधेयक अघि बढाए संसद् बैठक अवरुद्ध पार्ने चेतावनी कांग्रेसले दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्