Logo

नेकपा कार्यदल के गर्दैछ ? शीर्ष नेताको हस्तक्षेप कि मतभिन्नता ?



माघ ७, काठमाण्डौ । नेकपा पार्टी एकिकरण भएको लामो समय बितिसक्दा पनि पार्टीका सबै संगठनहरुको एकिकरण हुन सकेको छैन । नेकपाले पार्टी संगठनको संगठनात्मक एकीकरण टुंगो लगाउन गठन गरेको शक्तिशाली कार्यदलका सदस्यहरुबीच मतभिन्नता बढेको छ । सदस्यबीच कुरो नमिलेपछि कार्यदलले प्रतिवेदन तयार पार्न सकेको छैन ।

नेकपाको कार्यदलभित्रै मत बाझिएकै कारण दुई साताको समय पाएको कार्यदलको बैठक पटक पटक बसे पनि कुनै निष्कर्ष निस्किएको छैन । एकीकरणको प्रस्ताव नै तयार नपारी म्याद गुजारेको कार्यदल तीन साता पार गरिसक्दासमेत अन्यौलमै छ । केन्द्रमा एकिकरण भए पनि हालसम्म तल्लो तहको एकीकरण नहुदा चौतर्फी दबाव र गुनासो बढेपछि नेकपा कार्यदलको पछिल्लो समय बसेको स्थायी समितिको बैठकले सबै समस्याको समाधान गर्ने कायदल गठन गरेको थियो ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांगठनिक एकताको लागि बनेको कार्यदलले प्रतिवेदन भने बनाइरहेको दावी गर्नुभएको छ । पार्टीको संगठन र संरचनामा कसलाई के जिम्मेवारी दिने भन्नेमा अन्योल रहेको नेम्वाङ बताउनुहुन्छ । दुईवटै पार्टीलाई सम्मानजनक रुपमा व्यवस्थापन कसरी गर्ने भन्नेमा समाधान निस्कन नसकेको नेम्वाङले स्विकार गर्नुभयो ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच नौ महिनाअघि एकीकरण भए पनि तल्लो तहको एकता प्रक्रिया अझै अन्योलमा परेको छ । पार्टी एकीकरणको नौ महिना, नौ सदस्यीय सचिवालय र नौ सदस्यीय कार्यदल संयोग भए पनि उल्लेख्य काम केही गर्न नसकेको भन्दै केन्द्रीय सदस्यहरूले नेतृत्वको आलोचना गर्न थालेका छन् । नौ सदस्यीय कार्यदलको बैठक २४ पुसपछि बस्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्