काठमाडौं, ९ माघ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डा. गोविन्द केसीसँग गरिएको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।
बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले उक्त विषयमा आफू धेरै नबोल्ने भन्दै ‘सरकारले विगतमा डा. केसीसँग गरेका सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्छ’– यादवले भने ।
डा. केसीका मागहरु आफ्नोसँगभन्दा पनि शिक्षा मन्त्रालयसँग बढी जोडिएको भन्दै उनले चिकित्सा शिक्षालाई उत्कृष्ट बनाउनुपर्ने र मेडिकल शिक्षाका लागि वर्षैपिच्छे बाहिर गइरहेको अर्बाैं रुपैयाँ रोक्ने वातावरण बनाउनुपर्ने बताए ।
पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले स्वास्थ्य मन्त्रालयले नै २०८० देखि प्रमाणपत्र तहका स्वास्थ्य कर्मचारीलाई नलिने निर्णय गरिसकेकाले त्यस विषयलाई सरकारले अघि बढाउन नहुने बताए ।