Logo

विद्यार्थी नेताको आरोप : ‘दरबार हत्याकाण्ड पूर्वराजा ज्ञानेन्द्रले नै गराएको हो’ (भिडियोसहित)



काठमाडौं, १० माघ । सत्तारुढ दल नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका अध्यक्ष तथा युवा नेता रञ्जित तामाङ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले दरबार हत्याकाण्ड पूर्वराजा ज्ञानेन्द्र शाहले नै गराएको गम्भिर आरोप लगाएका छन् ।

बुधबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम “जनता जान्न चाहन्छन्” कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा अध्यक्षद्धय तामाङ र महरले यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन् ।

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकारलाई आफूहरुले नथ्थी लगाएर हिँडाउने भनेर अध्यक्ष महरले उद्धघोष गरेलगत्तै पत्रकार धमलाले तपाईहरुसँग त्यो हिम्मत छ भनेर प्रश्न सोधे । लगत्तै उनले भने,”पूर्वराजा ज्ञानेन्द्रलाई पनि दरबार हत्याकाण्डमा संलग्न भन्थे । तर, ज्ञानेन्द्रले जब शासनसत्ता हातमा लियो, हजारौं जनता अकस्मात आईसकेको देखेर के भन्थ्यो कि यो त मलाईमात्रै मान्न आएका हुन् । राजा ज्ञानेन्द्रको हाईहाई, उहाँको जयजयकार हुन भनेर । तर, ती जनता उनको जयजयकार गर्न आएका थिएनन् । ती त कस्तो छ हत्यारा ? राजा कस्तो छ ? यो हत्यारा राजा कस्तो छ भनेर मान्छे आएका थिए ।”

धमलाले महरलाई फेरि अर्को प्रश्न तेर्साए,”त्यसो भए तपाईले पूर्वराजा ज्ञानेन्द्रलाई हत्यारा भन्न खोज्नुभएको हो ?” महरले चर्को स्वरमा जवाफ फर्काए,”नेपाली जनताले त्यो क्वेशन गरेको हो ।”

धमलाले यही प्रश्न अध्यक्ष तामाङलाई पनि सोधिहाले । उनले पनि जवाफ फर्काए,”अब दरबार हत्याकाण्ड धेरै लामो समय पछाडि, जो त्यसको छानबिन समितिले पनि कतिपय रिपोर्टहरु पेश गरिसकेको छ । तर, तथ्य र प्रमाणहरुको आधारमा भन्ने कुरा र अनुमानित रुपमा भन्ने कुरा फरक छ । नैनसिंहले भन्नुभएजस्तै स्वभाविक रुपमा दरबार हत्याकाण्ड हुँदाखेरि राजा ज्ञानेन्द्रको पनि संलग्नताको संशय आम जनमानसमा भएको साँचो कुरा हो । तर, जुन प्रकारको प्रमाण, तथ्य जो बाहिर ल्याईयो । र, पछि विभिन्न प्रकारका ईतिहाँसका कतिपय आत्मवृत्तान्तहरुमा, कतिपय त्यहीँ भित्रका व्यक्तिहरुका धारणाका आधारमा हेर्दाखेरि अहिलेपनि यो प्रश्न कायम छजस्तो लाग्छ ।”

फरक प्रसँगमा अध्यक्ष महरले आफूले संगठनको नेतृत्व लिएको यो दुई वर्ष पाँच महिनाको कार्यकालमा एक रुपैयाँपनि चन्दा कसैसँग नलिएको दाबी गरे । आफूले चन्दा अथवा आर्थिक सहयोग गरिदिनुपर्यो भनेर एक जना व्यापारीलाई चिठ्ठी नलेखेको पनि उनले जिकिर गरे ।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष तामाङले पनि आफूहरु नेता तथा मन्त्रीहरुको निवासमा चाकडी गर्न नगएको स्पष्ट पारे । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबीच एकताको लागि आफूहरु आन्तरिक गृहकार्यमा जुटेकोले औपचारिक रुपमा नेताहरुसँग परामर्श लिन जानेबाहेक अन्य प्रयोजनको लागि एकपटकपनि नगएको उनको जिकिर छ ।

आफूहरु नेतामुखी नभएर जनतामुखी भएको बताउँदै उनले संगठनको एकतालाई तत्काल सम्पन्न गर्नुपर्छ भनेर नै औपचारिक रुपमा नेताहरुसँग परामर्शमा रहेको बताए । त्यस्तै, उनले आगामी फागुण १४ गते स्ववियुको निर्वाचन जुनसुकै हालतमा सम्पन्न गर्नुपर्ने भएकोले तत्काल दुई संगठनबीचको एकताबारे पनि नेताहरुको ध्यानाकर्षण गराएको जिकिर गरे ।

तामाङले वर्तमान सरकारले जनताको भावनाअनुसार नै काम गरिरहेको जिकिर गरे । सरकारले धेरै राम्रा कामहरु गरेको छ । सरकारको सही कामहरुको आफूहरुले खुलेर प्रशंसा गरेको र गलत काम गरेकोप्रति पनि खुलेर नै विरोध जनाएको उनको स्पष्टोक्ति थियो ।

उता नेविसंघ अध्यक्ष महरले वर्तमान सरकारले राम्रो काम गर्नै नसक्ने ठोकुवा गरे । उनले भने,”नराम्रो काम गरेको फेहरिस्त मसँग छन् । यो सरकारले राम्रो काम गर्छ भनेर हामीले अपेक्षा नै गर्न सक्दैनौं । किनकी यो सरकारले दुई तिहाई बहुमत ल्याउनको लागि जनताको आँखामा छारो हालेको थियो ।”

महरले भने,”राष्ट्रीयता, जनजिवीकाका सवालमा, देशको समृद्धिको सवालमा, सुखी नेपाली बनाउने सवालमा, म यहाँलाई भन्दैछु, सरकार स्थापित भैसकेपछि पछिल्लो पटक नेविसंघले १४ वटा बुँदाका ठूलो अक्षरमा ब्यानर बनाएर, डेमो बनाएर प्रर्दशन गरेका थियौं । सरकारविरुद्ध शक्ति प्रर्दशन गर्यौं । विरोध र जुलुस निकालेका थियौं ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot