माघ १०, काठमाण्डौ । हरेक वर्षको माघ १६ गते सहिद दिवस मनाइन्छ । विशेषगरी चार जना सहिदको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।
चारै सहिदको सम्झनालाई मध्यनजर गर्दै हरेक वर्ष माघ १० गतेदेखि नै राणा शासनको विरोधमा लड्दालड्दै शहादत प्राप्त गरेकाहरुको सम्झनामासहिद सप्ताह मनाइन्छ ।
यस वर्ष पनि काठमाडौं महानगरपालिकाको संयोजनमा आजदेखि माघ १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाइने छ ।
पहिलो दिन बिहीबार टेकुको पचलीमा शुक्रराज शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गरी सप्ताहको सुरु भएको छ । नागरिक स्वतन्त्रताको माग गर्दा वि.सं. १९९७ माघ १० गते राति १२ बजे काठमाडौंको टेकु पचलीस्थित खरिको बोटमा शुक्रराजलाई झुण्ड्याएर हत्या गरिएको थियो ।
त्यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई तथा गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा तत्कालीन राणाशासकले गोली हानेर मृत्युदण्ड दिएका थिए ।
थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार प्रसार गरेको आरोपमा वि.सं. १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्ड्याएर हत्या गरिएको थियो । तर, नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।
यसैवीच शहिद सप्ताहको पहिलो दिन टेकुस्थित शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा निर्माण भएको पूर्णकदको सालिकको कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अनावरण गरेका छन् ।
यता प्रदेश नम्बर ३ को सरकारले माघ १६ गते परेको सहिद दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेशस्तरीय सार्वजनिक बिदा दिने प्रदेश सरकारको यो पहिलो निर्णय हो ।
३ नम्बरका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले सहिदहरुको सम्मान गर्ने बिदा दिने निर्णय गरेको हो ।