माघ १२, काठमाण्डौ । आज भारतले ७० औं गणतन्त्र दिवस मनाउँदैछ । सन् १९५० जनवरी २६ तारिखमा भारतको संविधान लागू भएको थियो । सोही दिनको सम्झनामा भारतले २६ जनवरीको दिन गणतन्त्र दिवस मनाउने गर्दछ ।
मित्रराष्ट्र भारतको गणतन्त्र दिवसको अवसरमा नेपालका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले शुभकामना दिएका छन् ।
राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्ना समकक्षीलाई शुभकामना सन्देश पठाएर उनीहरुको व्यक्तिगत सुख र भारतीय जनताको निरन्तर प्रगतिको कामना गरेका छन् ।
सन्देशमा दुवै देश र जनताबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।
७० औं गणतन्त्र दिवस समारोहमा मुख्य अतिथिको रुपमा दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामफोसा सहभागी छन् । गणतन्त्र दिवसको अवसरमा निकालिएको परेडको नेतृत्व महिला सैनिकहरुले गरेका छन् । राजपथबाट सुरु भएको परेड लाल किल्लामा पुगेर समापन हुने छ ।
समारोहमा परेडका साथै युद्धकला र अत्याधुनिक हतियारहरुको पनि प्रदर्शन गरिएको छ ।