Logo

नेपालमा भ्रष्टाचार घटेन, प्रधानमन्त्री ओलीको घोषणा कसैले पालना गरेनन्



माघ १६, काठमाण्डौ । नेपालका राजनीतिक दल र तिनका नेता भ्रष्टाचारी छन् । जनताको हितमा काम गर्ने जिम्मेवारी पाएका दलीय प्रतिनिधीदेखि सरकारी कर्मचारीसम्म भ्रष्ट छन् । सबै भ्रष्ट अवश्य छैनन् । तर अधिकांश पैसा कमाउने लोभमा भ्रष्ट बन्ने गरेका छन् ।

पछिल्लो पटक सार्वजनिक भएको भ्रष्टाचारसम्बन्धी तथ्याङ्कले विगतमा भन्दा बढि भ्रष्टाचार भएको पुष्टी भएको छ । गत वर्ष सम्पन्न चुनावपछि भ्रष्टाचारको तथ्याङ्क झन उकालो लागेको छ ।

नेपालमा भ्रष्टाचारको अवस्था गतवर्षकै जस्तै रहेको देखिएको छ । सन् २०१८ को भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्स इन्डेक्स– सीपीआई) मा नेपालले गतवर्ष झैं ३१ अंक पाएको हो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको तथ्याङ्कले गतवर्ष नेपालभन्दा पछाडि रहेका मुलुकहरुले आफ्नो अवस्था सुधार गरेका कारण नेपालका स्तर गतवर्षभन्दा तल पुगेको देखाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले तथ्याङ्कअनुसार नेपालको अवस्था कमजोर रहेको बताए । एक सयमा कम्तिमा ५० अंक ल्याउनुपर्नेमा जम्मा ३१ अंक ल्याएको उनले बताए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रेग्मीले औसतमा आएको ४३ पनि नेपालले भेट्न नसकेकोमा दुःख व्यक्त गरे ।

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार अन्त्य गर्ने घोषणा गरे पनि कार्यान्वयनमा कमजोर देखिएको रेग्मीले बताए ।

गतवर्ष सुशासनको दृष्टिले १ सय २२ औं मुलुक बनेको नेपाल यो वर्ष २ स्थान तल झरेर १ सय २४ औं भएको हो । अघिल्लो वर्ष नेपाल ३१ अंकका साथ १ सय २२ औं स्थानमा थियो । १ सय ७६ वटा मुलुकहरुमा सर्वेक्षण हुँदा १ सय २२ औं स्थानमा रहेको नेपाल यसपटक १ सय ८० वटा मुलुकमा सर्वेक्षण हुँदा १ सय २४ औं स्थानमा पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्