Logo

नाइजेरिया:परिवार नियोजनप्रति महिलाहरु आकर्षित



काठमाडौँ,१६ माघ । मोडुपे आडेगबिटेका हजुरबाबुका २२ सन्तान थिए । उनका बुबाका ९ जना मात्र सन्तान जन्मिए । उन्नाइस वर्षीया मोडुपेले भने चार जनाभन्दा बढी सन्तान नजन्माउने निर्णय गरेकी छिन् ।

“खुवाउन सकिन्न भने किन त्यतिविधि बच्चा जन्माउनु ?” उनले भनिन् ।अफ्रिकाको सर्वाधिक जनसंख्या रहेको नाइजेरियाका धेरै युवाले यही प्रश्न सोध्न थालेका छन् । गरिबी, उच्च बेरोजगारी र जातीय द्वन्द्वको चपेटामा रुमलिएको नाइजेरियामा उच्च जनसंख्या बृद्धिले जनसांख्यिक विस्फोटको रुप लिँदैछ ।

राष्ट्रसङ्घको विश्व जनसांख्यिक स्थिति प्रतिवेदन अनुसार, नाइजेरियाको अहिलेको जनसंख्या १९ करोड छ र सन् २०५० भित्र यो ४१ करोड पुग्ने अनुमान गरिएको छ । यस शताब्दीको अन्त्यसम्ममा नाइजेरियाको जनसंख्या दोब्बर हुनेछ ।

यसको अर्थ केबल ३० वर्षभित्रै नाइजेरिया विश्वकै तेस्रो बढी जनसंख्या भएको मुलुक हुनेछ । बढी जनसंख्या भएका पहिलो र दोस्रो स्थानमा रहेका मुलुकहरुमा चीन र भारत हुन् ।

अडेगबिटेजस्ता युवा महिला नाइजेरियाको आर्थिक राजधानी लेगोस नजिकै बाडा भन्ने स्थानमा गरिबी चरम सीमामा छ । उनलाई यौन शिक्षा र परिवार नियोजनका सेवा प्राप्त गर्न पनि कठिन छ ।

बाडामा विद्युत सेवा र कालोपत्र गरिएको सडक सुविधा छैन, तर यहाँ गत वर्षदेखि परिवार नियोजन सेवा केन्द्र खुलेको छ ।परिवार नियोजनका साधन कन्डम, गर्भनिरोधक चक्की र महिलाले लगाउने अन्य साधनहरु यहाँ निःशुल्क वितरण गर्न थालिएको छ । यो केन्द्र अमेरिकी गैर सरकारी संस्था पपुलेसन सर्भिसेज इन्टरनेसनलले सञ्चालन गरिरहेको छ ।

“यहाँका अधिकांश किशोरीहरु १५ वर्षकै उमेरमा, र कहिलेकाहिँ १४ वर्षकै उमेरमा, यौन सक्रिय हुने गरेको पाइएको छ,” केन्द्रकी नाओमी अलिले बताइन् ।“जुनसुकै धर्म मानुन्, उनीहरुको यौन जीवन चाँडै शुरु भएको देखिन्छ । त्यसर्थ, उनीहरु सानै उमेरमा गर्भवती हुन्छन्, र स्कुल पनि जान छाड्छन् ।”

यो ठाउँका किशोरी र अरु महिलाहरुले शुरुमा निकै शंका देखाए, तर अलिको भनाइमा यौनिकता र सम्बन्धहरुका बारेमा उनीहरु सार्वजनिक स्थलमा पनि खुलेर कुरा गर्न थालेका छन् ।

“यो निकै कठिन हुन्छ, कहिलेकाहिँ उनीहरु परिवार नियोजनका साधन प्रयोग गर्दा आफूहरु बाँझोपनको शिकार हुने त होइन भनी जिज्ञासा पनि राख्छन् । कहिलेकाहिँ त अभिभावकहरुले नै यस्तो गर्नु हुँदैन भनी अस्वीकार गरिदिन्छन्,” उनले बताइन् ।

नाइजेरियाका महिलाहरुले आजभोलि सरदर ५।५३ बच्चा जन्माइरहेका छन्, विश्व बैंकको भनाइ छ । तर, जन्मदर प्रमुख सहरहरु जस्तै लेगोस र ग्रामीण क्षेत्रबीच ठूलो अन्तर छ । ग्रामीण क्षेत्रमा हरेक महिलाले आठ जनासम्म बच्चा जन्माउने गरेको पाइएको छ ।

पश्चिम अफ्रिकाका लागि राष्ट्रसंघीय जनसंख्या कोषका क्षेत्रीय निर्देशक माबिन्गु एन्गोमले उत्तरी नाइजेरियामा सबैभन्दा बढी जन्मदर रहेको बताए । “हामीले केही नगर्ने हो भने हामीले ठूलै समस्याको सामना गर्नु पर्नेछ ।”

उनले भने, “हरेक वर्ष रोजगारीको खोजीमा रहने दुई करोड युवामध्ये २० देखि ३० लाखले मात्र रोजगारी पाउँछन् । यसले द्वन्द्व र आतङ्कवादलाई नै प्रश्रय दिन्छ ।”बेरोजगारीकै कारण उत्तरी नाइजेरियाबाट बोको हराम इस्लामिक छापामार युद्ध पन्पिएको उदाहरण दिँदै उनले भने, “यसको असर छिमेकी नाइजरमा पनि परेको छ । यो ठाउँमा विश्वकै सबैभन्दा उच्च जन्मदर रहेको छ ।”

ठूलो जनसंख्या भएपनि नाइजेरियाको भूगोल त्यति ठूलो छैन । अमेरिकाभन्दा दश गुणा सानो नाइजेरियाको क्षेत्रफल ९ लाख २३ हजार वर्ग किलोमिटर मात्र छ ।तुलनात्मक रुपमा मलिलो पश्चिम अफ्रिकी मुलुक नाइजेरियामा किसान र पशुपालक समुदायबीच जमिन र पानीका विषयमा हिंसात्मक झडप दिनहुँ हुने गरेको छ । गत वर्ष मात्र दशौं हजार नागरिकको यस्तै विषयमा भएका भिडन्तमा परेर मृत्यु भएको थियो ।

थोरै सन्तान जन्माउन परिवारहरुलाई प्रोत्साहित गर्न सरकारी स्रोतसाधन पनि यहाँ अपर्याप्त छ । सामाजिक सुरक्षाको भरपर्दो व्यवस्था नभएका कारण पनि बढी सन्तान जन्माउन मानिसहरु अग्रसर भएका पाइन्छन् ।

बढी बालबच्चा जन्माए उनीहरु बुढेसकालको सहारा हुने धारणा आमजनतामा गहिरोसँग जोडिएको छ । तर, केहीको विश्लेषणमा ठूलो जनसंख्या पनि मुलुकका लागि अवसर हुने गर्दछ, किनभने विदेशी लगानीकर्ताहरु पनि तीव्र रुपमा विस्तार भइरहेको बजारमाथि नै आँखा लगाएर बसेका हुन्छन् ।

रिनेसाँ क्यापिटलका प्रमुख अर्थशास्त्री चाल्र्स रबर्ट्सनले नाइजेरियाका लागि आगामी २० वर्षसम्म जनसंख्या पनि ठूलै फाइदाजनक हुने बताए । नाइजेरियाले व्यापक रुपमा वयस्क शिक्षामा जोड दिन र विद्युत आपूर्तिलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

नाइजेरियाका उपराष्ट्रपति येमी ओसिनबाजोले बढ्दो जनसंख्यालाई भरथेग गर्न आर्थिक विकासको विकल्प नरहेको बताउँदै रोजगारी र आर्थिक अवसर प्रदान गर्न, शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउन तथा आशा र विश्वास निर्माण गर्न आवश्यक रहेको बताए ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot