Logo

डा. गोविन्द केसीको समर्थन र विरोधमा कोको छन् ? हेर्नुहोस् विवरण



माघ १७, काठमाण्डौ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक दुवै सदनबाट पारित भएर ऐन बनिसकेको छ । भलै औपचारिकताका लागि राष्ट्रपतिले प्रमाणिकरण गर्न बाँकी छ । त्यो पनि होला अनि कार्यान्वयनमा आउनेछ ।

डा. गोविन्द केसीको अनसन र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधकाबीच सरकारले बहुमतको बलमा विधेयक पारित गरेपछि समस्या थप जटिल बन्दै गएको छ ।

केसी र कांग्रेससहित अन्य दल र संघ संस्थाले पनि विधेयकलाई डा. केसीसँग गरेको सम्झौताबमोजिम संशोधन गरेर मात्रै ऐन बनाउनुपर्ने माग गरेका थिए ।

आफूसँग भएको सम्झौताविपरित सरकारले जबजरस्ती विधेयक संसदमा पेश गर्ने संकेतपाएदेखि नै अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

आज मात्रै कांग्रेस सभापति शेरबहादुर देउवाले डा केसीलाई भेटेर अनसन तोड्न आग्रह गरेका छन् । २३ दिनदेखि अनशनरत डाक्टर केसीलाई देउवाले सरकारले माग पुरा गरेन भनेर ज्यान नफाल्नस्समेत आग्रह गरे ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले डाक्टर केसीको स्वास्थ्य अवस्थाको जानकारी लिएपछि आफ्नो जीवनरक्षा गर्न आग्रह गरेका हुन् । राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विेधेयक पारित भए लगत्तै देउवालगायत काँग्रेस नेताहरु केसीको अनशनस्थल शिक्षण अस्पताल पुगेका थिए ।

यता नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगतै संघले आन्दोलनको घोषणा गरेको हो ।

डा. गोविन्द केसीको जीजन रक्षाका लागि गरिएको कार्यक्रमलाई बेवास्ता गरिएकोमा स्तब्ध भएको संघले बताएको छ ।

चिकित्सक संघले डा. केसीको जीवन रक्षाको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा रिले अनसन गरिरहेको छ ।

डा. केसीको पक्षमा सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी पनि देखिएको छ ।
राष्ट्रिय जनता पार्टी, नेपालले पनि वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

त्यसैगरी विवकेशील साझा पार्टी र विवेकशील पार्टीले पनि केसीको समगर्थन गर्दै आएको छ ।

कांग्रेस निकट भातृसंगठनहरु नेपाल विद्यार्थी संगठन, तरुण दल लगायतले पनि केसकिो समर्थन र सरकारको विरुद्धमा प्रदर्शनहरु गरिरहेका छन् ।

पूर्व प्रधानन्यायधीश सुशीला कार्की लगायत नागरिक समाजका प्रबुद्ध व्यक्तिहरू पनि केसीको पक्षमा छन् ।

कस्तो छ केसीको स्वास्थ्य ?
२३ दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य नाजुक बन्दै गएको अस्पतालले जनाएको छ । दिउँसो ३ बजे अस्पतालले गरेको ब्रिफिङ अनुसार केसीलाई सास फेर्न गाह्रो भइरहेको छ भने छातीको दुखाइ बढेको छ। कमजोरीको कारण उनी निदाउन सकेका छैनन् ।

उनको रगतमा ग्लुकोज र पोटासियमको मात्रा घटेको र सास फेर्न गाह्हो भएकाले आइसियूको जरुरत परिसकेको डाक्टर प्रमेश श्रेष्ठले ब्रिफिङ गरेका छन् । तर, केसी आइसियू जान मानेका छैनन् ।

केसी बोल्न सक्ने अवस्थामा नरहेको जनाइएको छ । स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएकाले मेडिकल टिमको निगरानीमा राखिएको छ । अस्पतालले गरेको ब्रिफिङमा भनिएको छ— ’स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएकाले आइसियू नसारे जुनसुकै बेला जे पनि हुन सक्छ ।’

सरकारको धारणा :
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भने विधेयक दुबै सदनबाट टुंग्याइसकेपछि केसीसँग नयाँ सहमति गर्न सकिने बताएका छन् । केसीको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध रहेको मन्त्री पोखरेलको दावी छ ।

सरकारका प्रवक्ता गोकुल बास्कोटाले भने केसीको माग सबै पूरा भइसकेकाले अनसनको औचित्य नभएको जवाफ दिएका छन् ।

यसपटक पेलेरै जान रणनीति बनाएको सरकारले केसीसँग वार्ताको पहलसमेत गरेको छैन । केसीले पनि विधेयक संसदमा पेश भएपछि प्रधानमन्त्री केपी ओलीको राजिनामा नै मागेका थिए ।

केसीसँग रुष्ट
यसपटकको अनसनमा केसीले द्धन्द्धकालका घटना र निर्मला प्रकरण पनि जोडेपछि कतिपय भने रुष्ट छन् । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि लामो समयदेखि लड्दै आएका केसीले राजनीतिक मुद्धा पनि बोकेपछि उनको आलोचना गर्नेहरु विगतमाभन्दा बढेका छन् ।

स्वास्थ्य क्षेत्रका अलावा द्वन्द्वकालको विषयलाई आफ्नो मागमा मिसाउनुका साथसाथै प्रधानमन्त्री एवं सत्तासीन दलका अध्यक्षद्वयलाई समेत ‘गालीगौलज’ को भाषा प्रयोग गरेपछि उनको अनसन पनि विवादित बनेको छ । एकातिर डा. केसी र उनका समर्थकहरु माग पूरा नभएको भन्दै आएका छन् भने अर्को्तिर डाक्टर केसीको धेरै माग सम्बोधन भए पनि राजनीतिक कुरालाई लिएर अनसन बसेको चिकित्सकहरुले नै आरोप लगाउन र विरोधमा उत्रन थालेका छन् ।

अस्पताललाई अनसन स्थल बनाउन नहुने भन्दै डा. केसीको अनसनको विरुद्धमा टिचिङ अस्पतालका प्राध्यापक डाक्टरहरुको एउटा समुह लागिपरेको छ ।

यसअघि केसीको अनसनविरुद्ध एक युवाले अर्को अनसन पनि सुरु गरेका थिए । विजय थापा नाामका ति युवकभने विगतमा अपराधिक क्रियाकलापमा संलग्न भएको तथ्य फेला परेपछि उनको अनसनले महत्व पाएन । थापालाई केसी विरोधी तत्वले अनसन बसाएको हल्ला पनि सुनियो ।

केही सर्वसाधारण तथा विरामीका आफन्तले पनि शिक्षण अस्पतालमा केसी अनसन बस्दा उपचार प्रभावित भएको भन्दै विरोध गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्