तेह्रथुम, १७ माघ । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले वर्तमान परिवेशमा डा गोविन्द केसीको शिक्षा र स्वास्थ्यसम्बन्धी जायज मागको आफ्नो पार्टीको सर्मथन रहेको बताउँदै अन्य माग बढाउँदै लगेकामा शङ्का व्यक्त गरेका छन्।
नयाँ शक्ति पार्टी नेपालले यही माघ १५ गतेदेखि मुलुकभर सञ्चालन गरिरहेकोे ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा’ कार्यक्रमलाई म्याङलुङमा आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
फरक प्रसँगमा उनले नागरिकको अधिकारसहित विकास गर्न राजनीतिक शुद्धीकरण हुनुपर्ने बताए । नेता भट्टराईले जनताको सहभागितासहितको राजनीतिलाई सबै नागरिकको विकासका लागि उपयोग गर्न जोड दिए।