काठमाडौं, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री प्रसाद न्यौपानेविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
सोमबार पूर्वमन्त्री न्यौपानेसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको हो । तत्कालीन महिला, बालवालिका तथा समाज कल्याणमन्त्री एवं समाज कल्याण परिषद्का तत्कालिन अध्यक्ष समेत रहेका न्यौपानेमाथि भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा ३१ करोड ५२ लाख १७ हजार ६७५ रुपैयाँ २० पैसा भ्रष्टाचार गरेको दाबी अख्तियारले गरेको छ ।
पूर्वमन्त्री न्यौपानेसहित परिषदका उपाध्यक्ष प्रमोद मेहता लगायत १४ जनाविरुद्ध मुद्दा दायर गरिएको हो । न्यौपाने र मेहताको मिलेमतोमा २०६९ साल भदौमा रविन्द्र गुरुङलाई मासिक ५ लाख ५५ हजारमा १५ वर्षका लागि फनपार्क मेला सञ्चालन गर्न अनुमति दिइएको थियो ।