Logo

खाँटी एक निर्वाचन क्षेत्रका नेताका रूपमा सीमित हुँदै प्रचण्ड



काठमाडौं २६ माघ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल एक सांसद मात्र होइनन्, प्रमुख सत्तारूढ दलकै मुख्य नेता पनि । उनीमाथि पार्टी कामको बोझ मात्र होइन, मुलुककै दायित्व पनि छ । तर चितवन दौडधुप हेर्दा उनी खाँटी एक निर्वाचन क्षेत्रका नेताका रूपमा सीमित हुँदै गएका छन् । कुनै समय संसदीय व्यवस्थाविरुद्ध विद्रोहको नेतृत्व गरेका दाहाललाई अहिले आफ्नो संसदीय निर्वाचन क्षेत्रको राजनीति औधी प्यारो भएको छ । चितवन ३ का हरेक कार्यक्रममा भाग लिन पुग्छन् उनी । महायज्ञ होस् कि सामान्य कार्यक्रम उद्घाटन, प्रमुख अतिथि बन्न राजधानीबाट दौडिइहाल्छन् ।

उनको व्यस्तता अन्यत्रभन्दा भरतपुर महानगरपालिका क्षेत्रमा बढी छ, जहाँ उनकी छोरी रेणु दाहाल मेयर छिन् । परिवारभित्र रेणुलाई उनको उत्तराधिकारीका रूपमा समेत हेरिन्छ । भरतपुर महानगरपालिकाका २९ मध्ये १९ वटा वडा र माडी नगरपालिका पुरै दाहालको निर्वाचन क्षेत्रमा हो । तर दाहालको चासो भरतपुरमै बढी देखिन्छ । निर्वाचित भएयता दाहाल माडी दुईपटक मात्रै पुगेका छन, भरतपुरका कार्यक्रममा भने उनको आउजाउ बाक्लै छ ।

माघ महिनामा दाहाल दुई पटक चितवन आइसके । गत बिहीबार पार्टीका पुराना नेता तथा तत्कालीन बघौडा गाविसका पूर्वअध्यक्ष भुवानीप्रसाद पौडेलको श्रद्धाञ्जलि सभामा भाग लिन भरतपुर आए । त्यही क्रममा भेनेजुएला विज्ञप्तिका विषयमा बोले । दिउँसो भरतपुरका अस्पताल भर्ना भएका तीन नेतालाई भेटेर काठमाडौं फर्के । दाहाल अघिल्लो बिहीबार अर्थात् माघ १७ गते पनि चितवनमै व्यस्त थिए । त्यो दिन बिहान पटिहानीमा भएको पत्रकार महिलाहरूको राष्ट्रिय सम्मेलनको उद्घाटन गरे । त्यसपछि कंकाली माविको कार्यक्रममा सरिक भएर भरतपुरको केन्द्रीय बसपार्क शिलान्यास गर्न भ्याए ।

फागुन पहिलो साता उनी फेरि आउँदै छन् । दाहालकी स्वकीय सचिव निशा न्यौपानेले चुनाव जितेपछि हरेक महिना दाहाल जिल्ला आएको जानकारी दिइन् । ‘अहिलेसम्म कुनै महिना खाली छैन, हरेक महिना आउनुभएको छ, कुनै महिनामा तीन–तीन पटकसम्म,’ उनले भनिन् । दाहाल आफैंलाई पनि निर्वाचन क्षेत्रमा बाक्लो आवतजावत महसुस भएको छ । ‘मलाई जिल्ला अलि बढी धाइरहने नेताका रूपमा लिन थालिएको छ,’ चितवनमा हुने हरेक कार्यक्रममा दाहाल यसो भन्न छुटाउँदैनन् ।

निर्वाचन क्षेत्रमा योजनै योजना
दाहालको निर्वाचन क्षेत्र भरतपुर महानगरभित्र अहिले विकासका योजनै योजना छन् । विगतको तुलनामा अहिले थुप्रै योजना पर्नुमा दाहालको प्रभाव देखिन्छ । धुर्मुस–सुन्तली फाउन्डेसनले हालै निर्माण घोषणा गरेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पनि दाहालकै निर्वाचन क्षेत्रमा पर्छ, जुन योजनाको सुरुवात गर्ने कार्यक्रमका विशेष अतिथि उनै थिए ।

माघ १७ गते उनले भरतपुरको केन्द्रीय बसपार्कसहित पाँचवटा आयोजनाको संयुक्त शिलान्यास गरेका थिए । पाँचमध्ये तीन आयोजना उनकै निर्वाचन क्षेत्रभित्रका छन् । सहरी विकास मन्त्रालयका अन्तर्गतका सडकसम्बन्धी तीन आयोजनामा मात्रै २८ करोड ५४ लाख रुपैयाँका हुन् । सहरी विकास मन्त्रालयबाटै बन्ने भरतपुरको चक्रपथ र लिंकरोडको दाहालले गत असार २९ गते शिलान्यास गरेका थिए ।

त्यो दिन उनले भरतपुरको पटिहानीमा पहिलो खण्डको र नारायणगढमा दोस्रो खण्डको शिलान्यास गरेका थिए । चितवनमा रहेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाका सूचना अधिकारी सृष्टि भुसालका अनुसार पहिलो खण्डको सम्झौता रकम ७७ करोड ८३ लाख र दोस्रो खण्डको ६८ करोड १३ लाख रुपैयाँ हो । रिङ रोडको काम साढे ८ किलोमिटर पूरा गर्ने योजना छ । ५२ किलोमिटर लिंक रोड निर्माण हुनेछ । यी सबै योजना दाहालकै निर्वाचन क्षेत्रअन्तर्गतका वडाका हुन् ।

भरतपुरका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि अर्बौंका योजना घोषणा गरेको छ । गत कात्तिक ११ गते भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ महानगरपालिका कार्यालयमा स्वयं उपस्थित भएर घोषणा गरेका १७ भन्दा बढी आयोजनाहरू अधिकांश भरतपुर केन्द्रित छन् । त्यो कार्यक्रममा पनि दाहाल संगै थिए । साढे २ अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको पुल्चोक–गोन्द्राङ सडक ६ लेनको बनाउने योजनाले पुरै भरतपुर महानगर छुन्छ ।

स्वकीय सचिव न्यौपानेका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चितवन ३ का ११ विद्यालयमा सहयोग गरेको छ । यसबाहेक खानेपानी र ढल प्रशोधनका योजना आउने क्रममा रहेको उनले बताइन् । बिहीबार भरतपुर विमानस्थलमै अध्यक्ष दाहालले चितवनमा धेरै योजना आए अन्यत्र आएनन् भन्ने कुरा साँचो नभएको प्रस्टीकरण दिनु परेको थियो । उनले केही ठूला आयोजना चुनावभन्दा अघिकै सरकारले पारित गरेको बताए ।

‘म आएपछि र भरतपुर महानगरबाट पनि जे जति काम भएका छन् मिहिनेतका साथ भएका छन् । तर ठूलै रकम यहाँ आयो, धेरै नै भयो भन्ने हैन । दीर्घकालीन र रणनीतिक महत्त्वको चितवनको रंगरूप फेरिने नारायणी–राप्ती तटबन्धनसहितको रिङरोड जस्ता योजनामा भने मेरो जोड छ, त्यो देशकै लागि आवश्यक छ,’ दाहालको भनाइ थियो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot