Logo

परराष्ट्रमन्त्री ज्ञवालीको अपत्यारिलो भाषण : बागमतीको पानी पिउनयोग्य बनाउँछौँ (भिडियो)



माघ २६, काठमाण्डौ । काठमाण्डौको सभ्यता बागमति नदी दुर्गन्धित छ । यसलाई सफा र सुन्दर बनाउने लक्ष्यका साथ सुरु गरिएको बागमति सरसफाई अभियानले ३ सय हप्ता पूरा गरेको छ । तर बागमतिको पानी सफा बन्न सकेको छैन । अक्लझुक्कल सरसफाइका लागि पुग्ने नेता तथा मन्त्रीहरु भने बागमतिको पानी पिउन योग्य बनाउने भन्दै भाषण गर्छन् ।

बाग्मती सरसफाइ महाअभियानको ३००औँ हप्ता पुरा भइसक्दा पनि बाग्मती नदि जति सफा हुनुपर्ने त्यति भएको छैन । विसं २०७० जेठ ५ गतेदेखि संस्थागतरूपमा बाग्मती सरसफाइ अभियान शुरु भएको थियो । शुरुको १००औँ हप्तासम्म बाग्मती नदीमा मात्रै केन्द्रीत सफाइ अभियान विस्तार हुँदै विष्णुमती, रुद्रमती धोबीखोला, नख्खु, कर्मनाशा कोडकु, इन्द्रमती बल्खु, मनोहरा, हनुमन्ते नदी तथा चक्रपथ सफाइसम्म विस्तार भएको थियो । शनिबार ३ सय हप्ताको विशेष सरसफाई कार्यक्रममा पुगेका मन्त्रीहरुले भाषण भने ठूलै गरेका छन् । परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले त बागमतिको पानी नुहाउनयोग्य मात्रै होइन, पिउन योग्य नै बनाउने भन्दै भाषण गर्नुभयो । परराष्ट्रमन्त्रीले बागमतिको पानी पिउन योग्य बनाउँछु भन्दा पत्याउने कि नपत्याउने ?

त्यस्तै वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वाग्मती सरसफाइ गर्नका लागि सरकारले स्पष्ट रणनीति ल्याउने तयारी गरिरहेको उल्लेख गर्नुभयो । खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले अभियानले वाग्मती सरसफाइमात्र नगरेर सिङ्गो देशलाई नै सरसफाइ अभियानमा लाग्न सिकाएको बताउनुभयो ।

बाग्मती सफाइ महाअभियानसँगै बाग्मती र सहायक नदीहरुको ढल निर्माण कार्य, उद्यान निर्माण तथा सौर्य बत्ती जडानलगायत काम तीव्र गतिमा अगाडि बढेको छ । बाग्मती नदीमा बग्ने पानी पिउनयोग्य तथा स्पर्श गर्न योग्य नहुञ्जेलसम्म जारी रहने अभियानकर्मीले बताएका छन् ।

२०० औँ हप्तासम्म सुन्दरीजलदेखि चोभारसम्म पदयात्रा तथा अभियानलाई कार्यान्वयन गर्न दशबुँदे घोषणापत्र जारी भएको थियो । वाग्मती सरसफाइ अभियानमा अहिलेसम्म करीब १८ हजार मेट्रिक टन फोहर उठाइसकिएकोे छ । यस कार्यमा एक हजार ८५० सङ्घसंस्था आबद्ध रही करीब दश लाख स्वयंसेवी परिचालन भएका थिए ।



प्रतिक्रिया दिनुहोस्