शरद रेग्मी : दाङ, २७ माघ । पत्रकार रबि लामिछानेले आफु देशमा हुने अन्याय र अत्याचारको बिरुद्धमा दृढ भएर उभिरहने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लब दाङ शाखाले आईतबार साँझ तुलसीपुरमा आयोजना गरेको स्वागत तथा साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।
लामिछानेले आम नागरिकको सहयोगमा मुसहर बस्ति र जुम्लामा सामुदायिक अस्पतालको अबधारणा समेत अगाडि बढाएको प्रष्ट पारे ।
उनले रिपोर्टर्स क्लबले देशभर सामाजिक र आर्थिक र समृद्धिको अभियान सञ्चालन गरेको भन्दै खुलेर प्रशंसा गरे । लामिछानेले क्लबले देशभर सञ्चालन गरेका हरेक गतिविधिलाई सामान्य रुपमा लिन नहुने भन्दै उसको कदमलाई उच्च मुल्यांकन गर्नुपर्नेमा जोड दिए ।
क्लब दाङ शाखाका सभापति शरद रेग्मीको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,”रिपोर्टस क्लबको उदय निस्चित छ, यदि कसैले रिस गरेर रोक्ने दुष्प्रयास गर्छ भने त्यो उदाउँदो सुर्यलाई हत्केलाले रोक्न खोजेको जस्तै मुर्खता देखाउनु हो ।”
उनले दाङ शाखाको क्रियाशिलताको उच्च मुल्यांकन समेत गरे । साथै, कार्यक्रममा उनले आफ्नो क्रियाशिलतालाई पत्रकारिता क्षेत्रकै केही ब्यक्तिहरुले आलोचना गर्ने गरेको हुँदा आफु चिन्तित बन्ने गरेकोसमेत दुःखेसो पोखे ।
उनले आफ्नो टिम शसक्त रुपमा फिल्डमा उभिएको भन्दै कुनैपनि बहानामा आफुहरु पछाडि नहट्ने समेत विश्वास दिलाए । “पत्रकारिता क्षेत्रमा अबसर र चुनौती दुबै छन् “-उनले अघि थपे, “हामिहरु हरेक चुनौतिसँग जुध्न तयार छौ ।”
कार्यक्रममा तुलसिपुर नगर जेसिजका अध्यक्ष मेघराज घिमिरे, प्रबक्ता नारायण भट्टराई, रिपोर्टस क्लबमा उपाध्यक्ष बालाराम खड्का लगायतले सम्बोधन गरेका थिए ।