Logo

सवारी दुर्घटनाको डरलाग्दो तथ्याङ्क, पोहोरभन्दा अहिले धेरैको ज्यान गयो



माघ २९, काठमाण्डौ । नेपालको सडक र सवारीको व्यवस्थापन चुस्त हुन सकेको छैन । जसका कारण दिनहुँ सयौँ दुर्घटना हुने गरेको छ । चालु आर्थिक वर्षमा विगत वर्षको भन्दा बढि दुर्घटना भएको छ । दुर्घटनाबाट भएको मानवीय र भौतिक क्षतिले सडक यात्रा नै डरलाग्दो बनाएको छ ।

काठमाण्डौ उपत्यकाका तिन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा अघिल्लो आर्थिक वर्ष २०७४–७५ मा सवारी दुर्घटनाबाट १ सय ९४ जनाको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको ६ महिना अर्थात पुष मसान्तसम्ममा नै १ सय ३२ जनाको मृत्यु भइसकेको छ । ६ महिनाको अवधिको यो तथ्याङ्कले स्पष्ट पार्छ कि दुर्घटनाबाट हुने मानवीय क्षतिको संख्या बढिरहेको छ ।

२०७३–७४ मा दुर्घटनाका कारण १ सय ८२ जनाको मृत्यु भएको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा सवारी साधन दुर्घटनामा परी घाइते हुनेको संख्या २ हजार ८ सय ४२ रहेको छ । ति मध्ये १ सय ३९ जना गम्भीर घाइते भएका छन् । अघिल्लो आर्थिक वर्षमा ४ हजार ३ सय ३३ जना घाइते भएका थिए । मृत्यु र घाइतेको यो तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा दुर्घटना बढेको पुष्टी हुन्छ ।

दुर्घटना गराउने सवारी साधनमा सबैभन्दा बढि मोटरसाइकल र स्कुटर रहेको छ । त्यसपछि ट्रक र ट्रिपरका कारण हुने दुर्घटनाको संख्या बढि रहेको छ । दुर्घटनाको तथ्याङ्क डरलाग्दो गरी बढिरहे पनि सम्बन्धित निकायले भने न्युनकिरण गर्न सकेको छैन । दुर्घटना कम गर्नको निम्ती ट्राफिक प्रहरीले सचेतना मुलक अभियान संचालन गरिरहेको छ । तर यसको प्रभावकारिता भने देखिदैन । दुर्घटनाको मुख्य कारण चालको लापरबाहि र अस्तव्यस्त सडक रहेको छ ।

सडकमा जताततै होडबाजी देखिन्छ । जसरी हुन्छ आफै छिटो पुग्ने हतारोमा अरूलाई पर्न जाने बाधा र हुनसक्ने दुर्घटनाप्रति चालक गम्भीर भएको पाइदैन । दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी, चालक र यात्रु सबै होसियार हुनु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्