Logo

प्रविधिले अनुसन्धान सहज बनाउँदै



सुरेन्द्र भण्डारी : सुरुङ्गा, ४ फागुन / अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पछिल्लो समय झापामा धमाधम यसको जडान गरिदैँछ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला प्रहरी कार्यालय झापाले अहिले धेरैजसो स्थानीय तहमा सिसी क्यामरा जडानलाई प्राथमिकतामा राखेको छ ।

मुख्य गरेर राजमार्गसँग जोडिएका ठूला बजारमा प्रहरीले सिसी क्यामरा चोकचोकमा जडान गरेको छ । साना–ठूला अपराध अनुसन्धानका क्रममा प्रहरीलाई ठोस प्रमाण जुटाउन क्यामराले मद्दत पु¥याएपछि यो प्रहरीको प्राथमिकतामा परेको छ । बिर्तामोड नगरक्षेत्रमा मात्रै प्रहरीले रु ८० लाखभन्दा बढी लागतमा ६४ सिसी क्यामरा जडान गरेको छ ।

भद्रपुर नगरपालिकाका विभिन्न स्थानमा १४, बुद्धशान्ति गाउँपालिकास्थित बुधवारे, मेची राजमार्गमा दुई, जिल्ला प्रहरी कार्यालय तथा मातहतका मुद्दा चल्ने प्रहरी एकाइका हिरासत कक्षमा प्रहरीले पाँच÷पाँचका दरले ३५ सिसी क्यामरा जडान गरिसकेको जिल्ला प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो । यता शिवसताक्षी नगरपालिका र कचनकवल गाउँपालिकामा सिसी क्यामरा जडानको पहल भइरहेको प्रहरी प्रमुख ढकालको भनाइ थियो ।

चालू आर्थिक वर्षको छ महीनामा झापामा ७०० भन्दा बढी अपराधका घटना घटेका छन् । जसमध्ये यौनजन्य गतिविधि र गम्भीर अपराधका घटना बढी छन् । तर, सिसी क्यामराको माध्ययमबाट अनुसन्धानमा सहजता भएपछि आवश्यक ठाउँमा क्यामरा राख्ने कामलाई तीव्रता दिइएको प्रहरी प्रमुख ढकालले बताउनुभयो ।

जनशक्ति र स्रोतसाधन कम हुँदा सो क्यामराको माध्यमले एउटै कोठामा बसेर पनि नगरको सुरक्षा गर्न सकिने भन्दै इलाका प्रहरी कार्यालय अनारमनीमा तत्कालीन प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले सिसी क्यामरा जडानकार्य शुरु गर्नुभएको थियो । उहाँको पहलमा बिर्तामोड नगरक्षेत्रमा मात्रै ६४ सिसी क्यामरा जडान भएको थियो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय झापाले गएको छ महीनामा गम्भीर अपराधमा संलग्न १७४ तथा यौनजन्य गतिविधिमा १२४ पक्राउ गरेको जनाएको छ । सो अवधिमा जिल्लामा ७०३ अपराधिक घटनाको मुद्दा दर्ता भएको जिल्ला प्रहरी प्रमुख ढकालले बताउनुभयो । प्रहरीले अदालतको फैसला कार्यान्वयनअन्तर्गत ११२ फरार र गुण्डागर्दीमा संलग्न ११० लाइ पक्राउ गरेको छ ।

खुला सिमानाका कारण लागूऔषधको कारोवार हुने झापामा प्रहरीले सक्रियता देखाउँदा १३५ लागुऔषध कारोवारमा संलग्न पक्राउ परेका छन् । सो अवधिमा एक करोड ३० लाख ६७ हजार ११० बराबरको सामान बरामद गरेर भन्सार कार्यालयमा प्रहरीले बुझाएको थियो ।

जिल्ला प्रहरी कार्यालयको नेतृत्व सम्हाल्न आउनुभएका भीमप्रसाद ढकालले आफूले जिल्लाको नेतृत्व सम्हालेसँगै अपराध न्यूनीकरणमा सफलता हात पारेको दाबी गर्नुभयो । यद्यपि जिल्ला कारागार झापाबाट फरार कैदी हालसम्म पक्राउ गर्न सकेका छैनन् ।

त्यस्तै बिर्तामोडको एक बैंकमा गत कात्तिकमा भएको लुटपाटमा संलग्नलाई समेत प्रहरीले पक्राउ गर्न सकेको छैन । भद्रपुर–९ स्थित मनषा सिमेन्ट उद्योगका म्यानेजर कमलसिंह दुगडको हत्यामा संलग्नलाई पनि प्रहरीले पक्राउ गर्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot