फागुन ५, काठमाण्डौ । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनता पार्टी र सरकारमै रहेको संघीय समाजवादी फोरम नेपालले सरकारको कार्यशैलीको चर्को आलोचना गर्दै आएका छन् । तर समर्थन फिर्ता लिने तथा सरकारबाट बाहिरिने निर्णय गर्न सकेका छैनन् । दुवै दलले संविधान संशोधनका लागि सरकार तयार नभए संघर्षमा जाने चेतावनी दिएका छन् ।
राष्ट्रिय जनता पार्टी नेपालले दशैँ अघि नै छठसम्मपनि संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको थियो । त्यसबेला प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्रसहित आफ्ना मागबारे ध्यानार्षण गराएको राजपाले आफ्नो घोषणा पूरा गर्न सकेन । किनकी उसको मागअनुसार संविधान संशोधन अहिलेसम्म पनि भएको छैन ।
राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाले महाधिवेशनको तयारी भइरहेकाले सकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने अवस्था नभएको बताउनुभएको छ । महाधिवेशन अगाडि हुने प्रादेशिक भेलामा सरकारको समिक्षा गर्दै समर्थन कायम राख्ने वा फिर्ता लिने विषयमा म्याण्डेट तय गर्ने झाको भनाई छ । उहाँले वैशाखमा हुने महाधिवेशनपछि सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने अवस्था आएको खण्डमा संघर्षमै जाने चेतावनी दिनुभयो । यसअघि फागुन महिनाभित्रै प्रधानमन्त्री ओलीलाई भेटेर माग पूरा गराउने सचेत गराउने झाले बताउनुभयो ।
सरकारमै सहभागि भएको अर्को दल संघीय समाजवादी फोरम नेपालले पनि सरकारप्रति असन्तुष्टी व्यक्त गर्दै आएको छ । फोरममा अध्यक्षसमेत रहेका उपेन्द्र यादव उपप्रधानमन्त्री नै बन्नुभएको छ । आफैँ सरकारमा रहेर पनि सरकारकै आलोचना गर्दै आएको फोरमले पनि न त प्रधानमन्त्रीलाई सच्चिन दबाब दिन सकेको छ, न त आफू सरकारबाट बाहिरिन नै । फोरमका नेता शिवजी यादवले आफ्ना मागहरु पूरा गराउन प्रधानमन्त्री ओली सकारात्मक नै भएको बताउनुभयो । यद्यपी यही वर्षभित्रमा संविधान संशोधन नभए सरकारबाट बाहिरिने उहाँको चेतावनी छ । संविधान संशोधन हुनेमा फोरम विश्वस्त छैन ।
सत्तारुढ दल नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी र फोरमलाई संविधान संशोधन गर्ने आश्वासन दिँदै आउनुभएको छ । प्रधानमन्त्री हुनुअघिसम्म संविधान संशोधनको कुरै नरुचाउने ओलीले राजपा र फोरमको समर्थन गुम्ने डरले आश्वासन दिन छोड्नुभएको छैन ।
यता फोरम भने सरकारमै बसेर सत्ताको स्वाद चाखिरहेको छ । त्यसैले पनि सरकारको आलोचनामै सिमित छ । अर्को दल राजपाले पनि समर्थन गरेसँगै सरकारमा सहभागि नै हुने बाटो खोजिरहेको छ । तर राजपाको आन्तरिक किचलोले गर्दा सरकारमा सहभागि हुन चाहने पक्ष एकातिर छ भने समर्थन नै फिर्ता लिनुपर्ने पक्ष अर्कोतिर ।