Logo

घुस खाएर राजिनामा दिएका पाठकमाथि छानविन सुरु, छुट नदिने ओलीको घोषणा



फागुन ७, काठमाण्डौ । घुस लिएको आरोप लागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राजीनामा दिएका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध अख्तियारले आजैबाट छानविन सुरु गरेको छ ।
अख्तियारकै आयुक्त भ्रष्ट भएको भन्दै उनीमाथि छानविन गर्न दबाब बढेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महान्यायाधिवक्ताको कार्यालयसँग राय लिएर अनुसन्धान सुुरु गरेको हो ।

राजनारायण पाठकमाथि ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेपछि उनले फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा दिएका थिए । सत्तारुढ दलले नै संसदमा महाअभियोग लगाउने चर्चा चलेपछि पाठकले राजिनामा दिएका थिए ।

तर उनले लिएको भनिएको घुस र अन्य विविध विषयमा छानविन गर्नुपर्ने आवाज उठेको थियो । भ्रष्टाचारीमाथि छानविन गर्ने र आवश्यक परे कारबाही प्रक्रिया अगाडि बढाउने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तले नै घुस लिएको सार्वजनिक भएपछि आयोग दबाबमा थियो ।

दबाबपछि अख्तियारले पाठक माथि छानविनका लागि तीन सदस्यीय समिति गठन गर्ने भएको छ । यस विषयमा अख्तियारका प्रवक्ता रामेश्वर दंगाल बुझ्न खोज्दा जानकारी दिन भने मानेनन् । छानविन कसरी अगाडि बढाउने भन्ने विषयमा अख्तियार परामर्शमा रहेको प्रवक्ता दंगालले जानकारी दिए ।

भक्तपुरस्थित नेपाल इन्जिनिरिङ कलेजको स्वामित्व विवाद विषयमा लम्बोदर न्यौपाने समूहबाट ७८ लाख रुपैयाँ घुस लिएको पाठकमाथि आरोप लागेको थियो ।

घुस दिने र लिने दुवैलाई कारवाहीको माग पनि उठेको छ । तर नेपालमा घुस दिनेलाई कारबाही गर्नेतर्फ कसैको पनि ध्यान गएको पाइदैन ।

पाठकमाथिको अनुसन्धानका लागि भने महान्यायाधिवक्ताको कार्यालयले पनि अख्तियारलाई परामर्श दिइसकेको छ । नेपाल बार एसोसियसनले पनि जोसुकैले भ्रष्टाचार गरे वा घु खाए पनि कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएको छ । एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले अख्तियार र सरकारले कानुनबमोजिम छानविन र कारबाही गर्नुपर्ने बताए ।

पाठकविरुद्ध संविधानको धारा २३९ र भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कानुनी कारवाही अघि बढ्न सक्ने छ । पाठकको झन्डै एक अर्ब रुपैयाँ बराबरको अकुत सम्पत्ति देखिएको भन्दै काठमाडौंं कोटेश्वरका सुजन दाहालले अख्तिायरमा आइतबार उजुरी दिएका थिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिँदैमा अख्तियार दुरुपयोग अनुसन्धानका आयोगको आयुक्तबाट राजीनामा दिएका राजनारायण पाठक कारबाहीबाट नजोगिने बताएका छन् ।

चमेलिया जलविद्युत् आयोजना अर्न्तगत डडेल्धुराको स्याउलेमा निर्माण गरिएको सव स्टेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अख्तियारका सदस्यहरु समेत करबाहीबाट उम्किन राजीनामा दिएर भाग्नुपर्ने रहेको बताउँदै त्यस्तालाई उम्किन नदिने बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्