फागुन ८, काठमाण्डौ । द्धन्दकालमा तत्कालिन विद्रोही माओवादीले आफ्नो छोरा हत्या गरेपछि न्यायका लागि वर्षौदेखि संघर्षरत गंगामाया अधिकारी अन्तराष्ट्रिय अदालतमा जाने भएकी छिन् । नेपालमा न्याय नपाएको भन्दै अधिकारीले अन्तराष्ट्रिय न्यायालयको साहारा लिन लागेकी हुन् । कतिपयले भने गंगामायालाई हतियार बनाएर द्धन्द्धकालिन घटना उचाल्न खोजेको आरोप लगाएका छन् ।
न्यायका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न भन्दै गोरखा फुजेलकी गंगामाया अधिकारीले राहदानी बनाएकी छन् । न्याय नपाएको भन्दै गत पुस २५ गते पुलचोकस्थित राष्ट्र संघ भवन पुगेकी गंगामायाले आइतवार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट राहदानी बनाएकी हुन् । गंगामायाको राहदानी बनाउनका लागि उनको पक्षमा केही अधिवक्ताहरुले लविङ गरेका थिए । राहदानी बनाएपछि गंगामायाले अब न्याय खोज्नका लागि अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने बताएकी छिन् । तत्कालीन नेकपा माओवादीले चलाएको जनयुद्धका क्रममा आफ्ना छोराको हत्यारामाथि कारबाही नभएको भन्दै गंगामाया अहिले युरोपका जुनसुकै न्यायलयमा गएर भए पनि न्याय मागेरै छाड्ने बताएकी छिन् ।
छोरा कृष्णप्रसादको न्यायका लागि लामो समय अनशन बसेका उनका पति नन्दप्रसाद अधिकारीको यसअघि नै अनशनका क्रममा ज्यान गइसकेको छ । अधिकारीको शव अझै पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ । गंगामायाले छोरोको मुद्धा द्धन्द्धकालिन भए पनि श्रीमानको मुद्धा त्यस्तो नभएकाले न्यायका लागि युरोप जाने बताएकी हुन् ।
यता सक्तारुढ दलका नेताहरुले भने नेपालमा शान्ति सुरक्षा र भलो नचाहानेहरुले गंगामायालाई उचालेर अन्तराष्ट्रिय समुदायमा लान खोजेको आरोप लगाएका छन् । नेकपाका नेता, कानुनविद् तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले गंगामायालाई प्रयोग गरेर केही तत्वले नेपालको बेइजत गराउन खोजेको आरोप लगाए ।
द्धन्द्धकालिन घटनाका सम्बन्धमा सरकारले नै समस्या सामाधान गर्ने प्रयास गरिरहेकोले अन्तराष्ट्रिय अदालतमा जान आवश्यक नरहेको विडारीको तर्क छ । डलरबादीहरुले गंगामायालाई प्रयोग गरे पनि त्यो सफल नहुने उनको ठोकुवा छ ।
सत्य निरुपण तथा मेलमिलाप आयोगले काम गरिरहेकाले उक्त घटनालाई धेरै उचाल्न नहुनेमा विडारीले जोड दिएका छन् ।
यता केही कानुनका ज्ञाताहरुले भने गंगामायाले नेपालबाट न्याय पाउन नसकेकाले बाध्य भएर अन्तराष्ट्रिय अदालत जानुपर्ने अवस्था सृजना भएको तर्क गरेका छन् । न्यायका लागि जो कोही पनि आफ्नो इच्छा अनुसार सम्बन्धित निकायमा जान सक्ने भएकाले गंगामाया अन्तराष्ट्रिय अदालत गइहाले पनि त्यसलाई अन्यथा सोच्न नहुने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी बताउँछन् ।
गंगामायाले अन्तराष्ट्रिय अदालतको ढोका ढकढक्याए यसले नेपाल सरकारालाई नै प्रभावित पार्ने छ । संक्रमण कालिनन्यायलाई लिएर देशीविदेशी केहीतत्वहरु चलखेलमा जुटेको भन्दै यस विषयमा सरकार पनि गम्भीर भएको बुझिएको छ । गंगामायालाई हतियार बनाएर केहीतत्वहरुले नेपाललाई फेरि अशान्तितिर धकेल्न खाजेको कतिपयको तर्क छ ।