Logo

सरकारले जनतालाई राष्ट्रिय परिचय पत्र दिन सकेन



फागुन ८, काठमाण्डौ । नेपाली नागरिकको पहिचानका लागि अहिले नागरिकताको प्रयोग भइरहेको छ । नागरिकतासँगै राष्ट्रिय परिचयपत्र पनि वितरण गर्ने चर्चा धेरै अघिदेखि भएको थियो । तर परिचय पत्र कस्तो बनाउने भन्ने लगायतका विषयमा स्पष्ट हुन नसक्दा अहिलेसम्म काम अघि बढ्न सकेको छैन । अब भने सरकारले ३ वर्ष भित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने दावी गरेको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले आगामी ३ वर्ष भित्र राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने योजना तय गरेको छ । मुलुकको सूचना बाह्य मुलुकमा जान नदिने गरी राष्ट्रिय परिचय पत्र सूचना प्रणालीको विकास गरिएको विभागले जानकारी दिएको छ । राष्ट्रिय परिचय पत्र वितरण गर्दा मुलुकको राष्ट्रिय हित र सुरक्षाप्रति सरकार सचेत रहेको विभागका महानिर्देशक दिपक काफ्लेले जानकारी दिनुभएको हो । यसै साता राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले पाँचथरबाट सुरु गरिएको राष्ट्रिय परिचय पत्र वितरणको काम चालू आर्थिक वर्ष भित्रै सबै जिल्लाबाट सुरु गर्ने योजना पनि सार्वजनिक गर्नु भयो । महानिर्देशक काफ्लेले त्यसका लागि आवश्यक सूचना प्रणालीको विकास गर्न लागिएको पनि बताउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले मुलुकको राष्ट्रिय हितलाई ध्यानमा राखेर मात्रै राष्ट्रिय परिचय पत्रको अभिलेख राख्ने गरी नयाँ सूचना प्रविधि भित्रयाउन सरकारलाई सचेत गराएका थिए । समितिका सदस्य झपड रावलले मुलुकको सुरक्षा प्रतिकूल नहुने गरी राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

समितिका अर्का सदस्य प्रेम सुवालले राष्ट्रिय परिचय पत्र वितरणका लागि नेपालले आफ्नै सूचना प्रणालीको विकास गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । विश्वका हरेक मुलुकले राष्ट्रिय परिचय पत्र वितरण आफ्नै सूचना प्रणालीबाट गरेकाले नेपालले पनि आफ्नो राष्ट्रिय हितको लागि सोही व्यवस्था गर्नुपर्नेतर्फ सरकारलाई सचेत गराउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले राष्ट्रिय हित र सुरक्षालाई ध्यानमा राखेर मात्रै राष्ट्रिय परिचय पत्र वितरण गर्न सरकारलाई सचेत गराएका थिए । एशीयाली विकास बैंकको सहयोगमा सरकारले हाल पाँचथर र सिंहदरबारभित्र सो परिचय पत्र वितरणको काम सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस्