काठमाडौं, २२ फागुन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आफ्ना पार्टीका नेता रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले जन्मकैदको फैसाल गरेपछि आज राजपा नेपालले समर्थन फिर्ता लिएको निर्णय लिएको हो । आज अध्यक्षमण्डलको बैठक बसेको थियो ।
जिल्ला अदालत कैलालीले बुधबार टीकापुर हत्याको घटनाका आरोपित सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय दिने फैसला गरेको थियो। त्यसप्रति नेता महतोको आपत्ति छ। संयोजक महेन्द्र राय यादवद्वारा जारी विज्ञप्तिमा सरकारमाथि विभिन्न आरोप लगाइएको छ।
यी हुन सरकारमाथि राजपाले लगाएका आरोपः
१) दुई तिहाई बहुमत हुँदाहुँदै पनि संविधान सशोधन नगरेको, २) मधेस र थरुहट आन्दोलनका बन्दीहरूलाई रिहा नगरेको, उनीहरूमाथि लगाइएका झूट्टा मुद्दा फिर्ता नलिएको, ३) आन्दोलनका घाइतेहरूको उपचार नगराएको, ४) बेरोजगारी समस्याको समाधान नगरेको, ५) महँगी र भ्रष्टाचार नियन्त्रण नगरेको, ६) असीना एवं बाढीपीडितलाई राहत नदिएको, ७) निर्मला पन्त लगायतको बलात्कारी र हत्यारालाई कारबाही नगरेको, ८) शान्तिसुरक्षा कायम गर्न नसकेको, ९) सन्तुलित परराष्ट्र नीति अबलम्बन नगरेको, १०) राज्यको हरेक अंगमा दलीय हीतको पक्षपोषणमात्र गरेको, ११) संघीयतालाई कमजोर गरेको, प्रदेशलाई अधिकार नदिएको र १२) प्रशासन संयन्त्रलाई पार्टीमुखी बनाएको।
तस्विर : मुकुन्द कालिकोटे