चैत ११, काठमाण्डौ । १ वैशाख ०७२ देखि सरकारले काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा कम तौलका प्लास्टिकका झोला प्रयोगमा प्रतिबन्ध घोषणा ग¥यो । तिनको अत्यधिक प्रयोगले वातावरणलाई प्रदूषित र दुर्गन्धित बनाएको सरकारी ठम्याइ थियो । तर यसको कार्यान्वयन हुनै सकेन । न त सरकारले निमय पालाना गराउनका लागि तदारुकता नै देखायो । न त प्लाष्टिक उद्योगले नै टेरे । अहिले यो फेरी बहसको विषय बनेको छ ।
काठमाडौ, ललितपुर र भक्तपुरमा त्यस्ता झोलाको आयात, बिक्री वितरण, भण्डारण र प्रयोग गर्नै नपाइने सरकारी घोषणा भने व्यवहारमा कमजोर देखिन्छ । संसद्को वातावरण संरक्षण समितिले ९ भदौ ०७१ मा सरकारलाई प्लास्टिक झोलामाथि प्रतिबन्ध लगाउन निर्देशन दिएको थियो । त्यसैको उपज थियो, ‘प्लास्टिक झोलामुक्त शहर हामी सबैको एउटै रहर’ नामको सरकारी अभियान । तर भरपर्दो विकल्प नदिई गरिएको घोषणा कार्यान्वयनमा आउनै सकेन ।
राष्ट्रियसभा बैठकमा प्लाष्टिकका झोला प्रयोगमा लगाईएको प्रतिबन्ध कार्यान्वयन नभएको सम्बन्धमा सरकारको ध्यानाकर्षण गराईएको छ । राष्ट्रियसभाको आईतबार बसेको बैठकमा सदस्यहरु डाक्टर बिमला राई पौडेल, रामनारायण विडारी र काली बहादुर मल्लबाट संयुक्त रुपमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध लगाईएको बारे राजपत्रमा प्रकाशित सूचना तत्काल कार्यान्वयनको माग गर्दे ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।
सांसदहरुले अहिले पनि काठमाण्डौ उपत्यकामा ४० माईक्रोन मोटाई भन्दा कममा प्लाष्टिकका झोलाहरु निर्वाधरुपमा प्रयोग भईरहेको दाबी गर्दै सूचना कार्यान्वयन नभए कारण सहित खारेजी गर्न चुनौति दिएका थिए ।
सांसदहरुले गरेको सवालको जवाफ दिँदै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले प्लाष्टिकको स्रोतमाथिकै व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले प्लाष्टिक झोला नियमन तथा नियन्त्रण निर्देशिका २०६८ लाई संसोधन गरि कम तौलका प्लाष्टिकका झोला उत्पादनमा नै रोक लगाउने तयारी सरकारले गरिरहेको स्पष्ट पार्नुभयो ।
प्रतिबन्धपछि प्लाष्टिकका झोलाको विकल्पमा सुतीका झोला र कागजमा पोको पारेर सामान बेच्ने क्रम शुरु भएको थियो । त्यसले पनि निरन्तरता पाएन ।
नेपालमा करिब चार सय प्लास्टिक उद्योग छन्, तीमध्ये कुनैले प्लास्टिक उत्पादन बन्द र विकल्पका लागि सरकारी सुविधा लिएका छैनन् । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारलाई प्लास्टिक झोलामुक्त क्षेत्र भनिएको छ । त्यहाँ भने कार्यान्वयनको पाटो सन्तोषजनक नै छ ।