Logo

समुन्द्रको बिचमा पानीजहाजको इन्जिनमा समस्या आएपछि…



ओस्लो, चैत । नर्वेको तटीय इलाकामा खराब मौसम र इन्जिनमा समस्या आएपछि अलपत्र परेको यात्रुबाहक पानीजहाजबाट एक हजार ३०० भन्दा बढी यात्रु र चालक दलका सदस्यहरुलाई सकुशल उद्धार गरिएको छ ।

पानीजहाजमा यात्रारत व्यक्तिहरुले शनिबार दिउँसो खिचेको भिडियोमा उक्त जहाज समुद्रमा ढलपल गरेको र मुस्किलले डुब्नबाट जोगिएको देखिएको थियो । नर्वेका उद्धारकर्मीहरुले तत्कालै हेलिकप्टर र अन्य जहाजको सहायताबाट उद्धारकार्य थालेका थिए ।

भाइकिङ स्काई कम्पनीको उक्त पानीजहाजमा विद्युत आपूर्ति बन्द भएको थियो । नर्वेको उत्तरी ट्रोम्सोबाट ओस्लोतर्फ आउँदै थियो । मोर ओग रोम्सडालबाट करिब दुई किलोमिटर अगाडि बढ्नासाथ इन्जिनमा समस्या आएको चालक दलका क्याप्टेनले सूचना पठाएका थिए ।

विषम मौसमी अवस्था आएपनि उद्धारकर्मीहरुले हेलिकप्टरको प्रयोग गर्ने निष्कर्षमा पुगेका थिए । प्रहरी प्रमुख टोर आन्द्रे फ्रान्कले भन्नुभयो, दुर्घटनाको संघारमा पुगेको जहाजमै यात्रुलाई छाड्नुभन्दा जसरी पनि उनीहरुलाई जमिनमा ल्याउनु बुद्धिमानी सम्झेर हामीले निकै चुनौतीबीच उद्धारकार्य थालेका हौं ।

आइतबार बिहानसम्म पानीजहाजका चारमध्ये तीनवटा इन्जिन पुनः चलाउन सफल भएका थिए ।

अधिकारीहरुले उद्धार गरिएकामध्ये १७ जनालाई अस्पताल भर्ना गरिएको छ । उद्धारका लागि पाँचवटा हेलिकप्टर र अरु जहाज प्रयोग गरिएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्