Logo

ओली सरकारले किन पठाउँदैछ दक्ष जनशक्ति विदेश ? स्वदेशमा रोजगार कहिले ?



चैत ११, काठमाण्डौ । नेपालमै रोजगारी सृजना गर्ने लक्ष्य बोकेको सरकारले थप जनशक्ति विदेश पठाउने समझदारी पत्रमा हस्ताक्षर गरेको छ । एक पछि अर्को देशमा नेपाली युवावर्गलाई पठाउन उद्धत देखिएको सरकारले जापानमा पनि दक्ष जनशक्ति पठाउने सहमति गरेको हो ।

सहमतिअनुसार जापान जाने विशेष सीप भएका श्रमिक (एसएसडब्लु)लाई दुई वर्गमा विभाजन गरिनेछ ।

नेपालमा न रोजगार छ । न कामअनुसारको पारिश्रमिक । जसका कारण नेपाली युवावर्गहरु विदेशी भूमिमा श्रम गर्न बाध्य छन् । नेपालमै रोजगार सृजना गर्ने लक्ष्य लिएको सरकारले एकपछि अर्को गर्दै विदेशमा नेपाली युवा पठाउने नीति लिएको छ । यसअघ दक्षिण कोरियासँग सम्झौता गरेपछि लाखाँै युवाहरु त्यहाँ पुगिसकेका छन् ।

देशलाई समृद्धिको यात्रामा लैजानुपर्ने दायित्व बोकेको सरकारले त्यसका लागि आवश्यक दक्ष जनशक्ति नै विदेश पठाइरहेको छ । सोमबार नेपाल सरकारले जापान सरकारसँग नेपाली कामदार जापान पठाउने विषयमा ‘सहयोग समझदारी पत्र’मा हस्ताक्षर गरेको छ । समझदारीसँगै जापानले पहिलो पटक सोझै नेपाली कामदारलाई श्रम भिसामा आफ्नो मुलुक लैजाने बाटो खुला भएको छ ।

समझदारी अनुसार जापानले आगामी अप्रिल १ देखि नेपालसहित ९ वटा देशका दक्ष कामदारलाई लैजाने निर्णय गरेको छ । जापानी पक्षले लिने जापानी भाषा र सीप परिक्षा उतीर्ण गरेका नेपाली कामदारलाई जापान पठाउने गरी समझदारी गरिएको हो ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदुत साईगोले दुवै मुलुकको सरकारी निकायले छनौट गरेका नेपाली कामदारलाई जापान लैजाने निर्णय लिइएको पनि बताउनु भयो ।

समझदारी पत्रमार कामदार पठाउने कार्य सरकारी संयन्त्रबाटै हुने उल्लेख गरिएको छ । तेस्रो पक्षको संलग्नता हुँदा ठगी हुने सम्भावना हुने भएकाले सरकारी संयन्त्रबाट कामदार जापान पठाउने समझदारी गरिएको हो । समझदारी अनुसार जापानले दक्ष र अदक्ष दुवै कामदार लैजानेछ ।

५ वर्ष भित्र ३ लाख ४२ हजार दक्ष, अदक्ष विदेशी कामदारलाई रोजगार दिने नीति लिएको छ । यस अघि दक्षिण कोरिया र इजरायलमा पनि सरकारी स्तरबाटै कामदार पठाउने समझादारी गरिएको थियो । नेपालमै काम नपाएर भौँतारिएका युवावर्गलाई यो सम्झौताले धेरै नै राहत त देला, तर देश विकासमा प्रयोग गर्नुपर्ने जनशक्तिलाई विदेश पठाउँदा त्यसले दीर्घकालिन रुपमा कस्तो असर गर्छ यो सरकारले नै जानोस् ।



प्रतिक्रिया दिनुहोस्