Logo

विप्लव समूह ध्वस्त बनाउँदै प्रधानमन्त्री ओली, अहिलेसम्म को-को पक्राउ परे ? (नामसहित)



चैत १३, काठमाण्डौ । सरकारले गत फागुन २८ गते प्रतिवन्ध लगाएपछि विप्लव समूहका नेता–कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । पक्राउ परेकाहरूमध्ये हालसम्म उच्चस्तरको नेता भने मध्यकमाण्ड इञ्चार्ज हेमन्त प्रकाश ओली (सुदर्शन) हुन् ।

ओलीसँगै शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सन्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन् ।

ओली विप्लवको पार्टीका तेस्रो नम्बरका नेता हुन् । दोस्रो नम्बरका मानिएका प्रकाण्डलाई भन्दा विप्लवले स्थायी समिति सदस्य ओलीलाई विश्वास गर्छन् । ओलीले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए ।

विप्लव समूहका मोरङ जिल्ला इञ्चार्ज कृष्णकुमार श्रेष्ठ (प्रज्ज्वल) पक्राउ परेका छन् । श्रेष्ठलाई अघिल्लो बुधबार मोरङको सुन्दरहरैचाबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच अछाममा त दोहोरो भिडन्त भयो । जिल्लाको रामारोशन गाउँपालिकाको बाटुलसैनमा मंगलबार दिउँसो १२ बजे दुई पक्षबीच गोली हानाहान भएको हो ।
त्यसक्रममा पनि ४ जना पक्राउ परे ।

पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, युवा सङ्गठनका जिल्ला सदस्य सुरेश साउद, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी र युवा सङ्गठनका राजेन्द्र धामी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

केही दिनअघि मात्रै प्रहरीले कोशी ब्युरो इञ्चार्ज घनश्याम श्रेष्ठ (पुष्कर)लाई पनि पक्राउ गरेको थियो । पक्राउ गरिएका नेतामा टीकाराम नेपाली र लालबहादुर सुनार छन् ।

विप्लव समुहका सप्तरी जिल्ला ईन्चार्ज सहित तीनजना तेजनारायण यादव, नुन्नु राम र गणपति साह पनि पक्राउ परेका छन् ।

कास्कीमा पनि मंगलबार उक्त पार्टीका प्रदेशस्तरीय नेता किसानसिंह गुरुङ पक्राउ परेका छन् । गुरुङ विप्लवको पार्टीले २ वर्षअघि घोषणा गरेको तमुवान जनसरकारका प्रमुख हुन्। पछिल्लो समय उनी जनपरिषद् तमुवान संयोजक छन् ।
त्यसैगरी तनहुँ प्रहरीले विप्लवका ३ पक्राउ कार्यकर्ता पक्रेको छ । केशवटारका भेषबहादुर सुनार, सिसाघाटका सुनील कुमाल र जुम्ला घर भई तनहुँ बस्ने अमर बुढा सोमबार राति पक्राउ परेका हुन् ।

उता, म्याग्दीमा जिल्ला जनसरकार प्रमुख जगेन्द्रबहादुर पुन पक्राउ परेका छन् । मालिका गाउँपालिका–३ का पुनसहित म्याग्दीमा प्रहरीले अरु २ जनालाई पनि पक्राउ गरेको छ ।

नवलपरासी जिल्ला इन्चार्जसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द समूहका नवलपरासी इन्चार्ज सुमन ज्ञवाली र नवलपुरका जिल्ला सदस्य धनबहादुर मर्द्नियालाई सोमबार राति पक्राउ गरेको हो ।

खैरनीमा बस्दै आएका ज्ञवालीले केही समय अर्घाखाँचीको जिल्ला इन्चार्ज भएर काम गरेका थिए ।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले उनका नेतालाई गाउँगाउँ पुगेर प्रकाउ गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्