Logo

नेकपा तल्लो तह एकताका लागि प्रचण्डको पर्खाइ



चैत १३, काठमाण्डौ । केन्द्रमा दुई पार्टी एक भएको करिब १ वर्ष पुग्नै लागेपनि जिल्ला र स्थानीय तहसम्म नेकपाको एकता पुग्न सकेको छैन । बिभिन्न बाहाना देखाउँदै अल्झाइएको एकता पछिल्लो पटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका गएका कारण रोकिएको थियो ।

अध्यक्ष प्रचण्ड स्वदेश फर्किएसँगै अब नेकपाको एकता प्रकृया गति दिने अपेक्षा गरिएको छ । यद्यपी नेकपा कै नेताहरु प्रचण्ड आए लगतै एकता टुङ्गि हाल्नेमा भने ढुक्क देखिदैनन् ।

नेतृत्व पंतिको अलमलका कारण अल्झनमा परेको नेकपाको एकता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएसँगै तिब्रता पाउने अपेक्षा गरिएको छ । पछिल्लो पटक अध्यक्ष प्रचण्ड स्वदेशमा नभएकै कारण एकता प्रक्रियाका सबै काम रोकिएको थियो ।

प्रचण्ड पत्नी सीताको उपचार गराएर बिहीबार अमेरिकाबाट फर्किदै छन् । प्रचण्ड फर्किएसँगै नेकपाले एकताले गति लिने दाबी गरे पनि त्यस्तो छनक स्वयम नेकपाका कतिपय नेताहरुले देखेका छैनन् ।

शीर्ष तहका सबै नेताहरु आफ्नो गुटको बर्चस्व बढाउने खेलमा लागेकाले एकता प्रक्रिया २–४ दिनमै नटुङ्गिने स्थायी समिति सदस्य योगेश भट्टराई बताउँछन् । उनका अनुसार गुटको भागबन्डा नमिलेसम्म जो आए गए पनि एकता टुङ्गि हाल्नेवाला छैन ।

नेकपाका शीर्ष नेताहरू पार्टीमा कसरी आफ्नो पकड कायम होला भन्ने हिसाबकिताब मिलाउनै केन्द्रित छन् । सुरुमा केन्द्रीय समिति र प्रदेश कमिटीमा आफ्ना पक्षधरको वर्चस्व बढाउन आन्तरिक रसाकस्सी गरेका उनीहरू अहिले जिल्ला तहको नेतृत्वका लागि आफू निकटलाई पार्ने संघर्षमा छन् ।

एकताको यो चरणमा आफ्नो गुटलाई जति सक्दो बलियो बनाउन अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डसँगै माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमको गुटका नेताहरु हात धोएर लागिपरेका छन् ।

जसका कारण एकता प्रक्रिया प्रचण्ड फर्किने बित्तिकै तत्काल टुङगि हाल्ने संकेत दोस्रो तहका नेताहरुले कमै देखेका छन् । प्रचण्ड स्वदेश फर्किएसँगै यस विषयमा सहमति जुटाउने प्रयास भने घनिभुत रुपमा हुने उनीहरुको भनाइ छ । नेताहरुबीचको भागबन्डाको विवाद मिलाएर भए पनि ढिलामा बैशाख ९ गते कम्युनिस्ट दिवसको अवसर पारेर एकता टुङ्ग्याउने तयारी भएको नेता नेता भट्टराईले जानकारी दिए ।

एकताका लागि नेकपाले पटक पटक कार्यदल पनि बनाएको थियो तर तिनले काम पूरा गर्न सकेनन् । नेतृत्वको ब्यक्तिगत स्वार्थका कारण कार्यदललाई काम गर्न नै नदिएको कार्यदल सदस्यहरुको दाबी छ ।

नेताहरुको आ आफ्नै स्वार्थका कारण अड्किएको एकता कहिलेसम्म लम्बिने हो त्यो भन्न कठिन छ । तर, के चाही निश्चित हो भने एकता नटुङ्गिदा नेकपाका करिब ५ देखि ७ लाख कार्यकर्ता जिम्मेबारी बिहिन भएका छन् भने निराशा पनि बढ्दै गएको छ । जसले नेकपालाई ठूलो क्षती पुर्याउने राजनीतिक विश्लेषकहरु बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्