Logo

हावाहुरीका कारण बारा र पर्सामा ३५ को मृत्यु, प्रधानमन्त्री स्थलगत अध्ययनका लागि जाँदै



चैत १८, काठमाण्डौ । असिना पानीसँगै आएको हावाहुरीका कारण बारा र पर्सामा ३५ जनाको मृत्यु भएको छ । प्रदेश २ सरकारले दिएको जानकारीअनुसार रौतहटमा समेत गरी ५ सय बढी घाइते भएका छन् ।

बारामा ३४ र पर्सामा १ जनाको मृत्यु भएको हो । हिजो बेलुका आएको हावाहुरीका कारण बाराको दक्षिणी क्षेत्रमा बढी क्षति पुगेको छ । आधा दर्जन बढी गाउँका अधिकांश घरहरु भत्किएका छन् ।

पर्सामा पनि केही गाउँमा क्षति पुगेको छ । बारा र पर्साका विभिन्न अस्पतालमा ५ सय बढीको उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । कलैया अस्पतालमा मात्र २ सय बढीको उपचार भइरहेको छ । नेपाली सेना र प्रहरीले बिहानैबाट उद्दार जारी राखेका छन् ।

केन्द्र सरकारले समेत उद्धारका लागि टोली परिचालन गरेको जनाएको छ । उद्धारका लागि ठूलो संख्यामा नेपाली सेना खटिएका छन् । भोकभोगै रहेका पीडित र घाईतेका लागि स्थानीय संघसंस्था, सुरक्षानिकाय लगायतले चिया बिस्कुट सहितका खानेकुरा वितरण गरेका छन् ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापाका सबै कार्यक्रम स्थगित गरेर प्रदेश २ को हुरी प्रभावित जिल्ला जाने भएका छन् । ओली झापाका सबै कार्यक्रमहरु स्थगित गरेर हुरी प्रभावित जिल्ला जान लागेका हुन् ।

गएराति बएको भीषण हुरीले बारा, पर्सालगायतका जिल्लामा ठूलो जनधनको धेरै क्षति भएको जानकारी पाएपछि ओलीले पूर्वनिर्धारित सबै कार्यक्रमहरु स्थगित गरेका हुन् । उनी हेलिकप्टरमार्फत् हुरी प्रभावित जिल्ला जाँदैछन् ।

यता गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भिषण हावाहुरीले ठूलो जनधनको क्षति र्पुयाएको भन्दै दुःख प्रकट गरेका छन् । मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी पनि दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot