Logo

नेतृत्वविहिन नेविसंघ, कसरी पार लाग्ला संकट ?



वैशाख ६, काठमाण्डौ । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघलाई गौरवमय इतिहास बोकेको संगठनको रुपमा लिइन्छ । तर अहिले यो संस्था भताभुङ्ग छ । समयमा महाधिवेशन सम्पन्न गर्न नसक्दा नेतृत्वविहिन बनेको नेविसंघले आज ४९ औं स्थापना दिवस बनायो ।

तर नेविसंघमा आवद्ध भएर विद्यार्थी नेताहरु भने निराश छन् । नेतृत्वले भने नेविसंघको महाधिवेशन गराउने छाँटकाँटसमेत देखाएको छैन ।

नेपाल विद्यार्थी संघको इतिहास हेर्ने हो भने नेपालमा जति पनि राजनितिक परिवर्तनको लागि ठुला–ठुला आन्दोलन हरु भए त्यसमा नेतृत्वदायी भुमिका निर्वाह गरेको भन्न सकिन्छ ।

विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपाली कांग्रेसले नेविसंघको स्थापना भएको थियो । उक्त दिनदेखि नेविसंघले बैशाख ६ गतेको दिनलाई आफ्नो स्थापना दिवस मनाउदै आएका छन । पछिल्लो समय नेविसंघ भित्रको आन्तरिक किचलोका कारण अहिले नेतृत्वविहिन छ । पार्टी सभापति शेरबहादुर देउवाले पटक–पटक नेविसंघको नेतृत्व तथा अन्य भातृसंघ संस्थाहरुको बारेमा पनि उचित निर्णय लिने बताउदै आएका छन ।

तर अहिलेसम्म सभापति देउवाले प्रशंसा गर्न योग्य निर्णय गर्न सकेका छैनन् । विद्यार्थी संगठनभित्र पनि केन्द्र्रिय नेताहरुले राजनिति खेलेपछि यस्तो दुखद अवस्था आएको भन्दै नेविसंघका नेताहरुले चिन्ता व्यक्त गरेका छन् । पार्टी नेतृत्वकै लापरबाहीका कारण नेविसंघ नेतृत्वविहिन हुन पुगेको नेताहरुको ठहर छ । अध्यक्षका दाबेदार पूर्व केन्द्रिय सदस्य सुशील भट्टले नेतृत्वको कमजोरीका कारण नेवि संघ संकटग्रस्त अवस्थामा पुगेको आरोप लगाए ।

नेपाली कांग्रेस आफैँ गुटउपगुटको सिकार बनेको छ । नेतृत्वले आफ्नो भातृ संगठनहरुलाई व्यवस्थित बनाउन सकेको छैन ।

त्यसो त पार्टीको केन्द्रिय समिति बैठक बस्ने पिच्छे नेविसंघका नेता कार्यकर्ताहरु पार्टी कार्यलयमा गएर धर्ना दिने गरेका छन । २ बर्षभित्र संगठनको १२ औं महाधिवेशन गर्नुपर्ने थियो ।

तर पटक–पटक म्याद थप गर्दा समेत महाधिवेशन गराउन नसकेपछि र पार्टी नेतृत्वभित्र समेत विवाद देखिएपछि अध्यक्ष नैनसिंह महरले पत्रकार सम्मेलन गर्दै राजिनामा बुझाएका थिए । अहिलेका पार्टी सभापति शेर बहादुर देउवा पनि नेविसंघ कै राजनीतिबाट पार्टी सभापतिमा पुगेका हुन । देउवा जस्ता धेरै शिर्ष र चर्चित युवा नेताहरु पनि नेविसंघकै राजनितिबाट पुगेका हुन ।

यी सवै कुरा हुदा हुदै पनि नेविसंघको हरेक कार्यकाल विवादरहित हुन सकेको छैन । नेपाली कांग्रेस जस्तो पुरानो र लोकतान्त्रिक पार्टी भित्रै लोकतन्त्रको अभ्यास शुन्य हुनु त्यो भन्दा अरु दुर्भाग्य के होला ?



प्रतिक्रिया दिनुहोस्