वैशाख १५, काठमाण्डौ । परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले नेपालको विकासमा चिनिया चासो बढ्दै गएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै कुटनीतिज्ञ श्रेष्ठले नेपालका विभिन्न भौतिक पूर्वाधार लगायतका क्षेत्रमा चिनले लगानी बढाउन चाहेको जिकिर गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको चिन भ्रमण जारी नै रहेका बेला श्रेष्ठले चिनसँगको सम्बन्ध मजबुत बन्दै जाँदा नेपालमाथि कसैले पनि नाकाबन्दी लगाउने हिम्मत गर्न नसक्नेसमेत बताए ।
राष्ट्रपति भण्डारीको विआरआई सम्मेलनमा सहभागिताले नेपाललाई धेरै फाइदा हुने श्रेष्ठको तर्क छ । चीनको बहुचर्चित एवं महत्वाकांक्षी अन्तर्रा्ष्ट्रिय परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) को दोस्रो अन्तरराष्ट्रिय फोरममा नेपालले राखेको प्रस्ताव पारित भएको छ । नेपालको प्रस्ताव समेटिएसँगै अब नेपाल र चीन विगतको भन्दा झन् नजिक बनेका छन् ।
बेइजिङमा शुक्रबार र शनिबार आयोजित बीआरआईको दुईदिने दोस्रो गोलमेच सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीसमेतको आतिथ्य रहेको थियो । करिब ४० राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुखहरुको सहभागिता रहेको दुई दिने सम्मेलनले ३८ बुँदे सामुहिक प्रतिवद्धता सार्वजनिक गरेको छ ।
शनिबार जारी ३८ बुँदे संयुक्त प्रतिवद्धताको परिशिष्टमा तीनवटा विषयलाई समेटेर विभिन्न ६४ वटा परियोजनाहरु उल्लेख गरिएका छन् । तीमध्ये इकोनोमिक कोरिडोर एवं कनेक्टिभिटीसँग सम्बन्धित ३५ वटा परियोजना छन्, जसको २३ औं नम्बर बुँदामा नेपालको प्रस्तावलाई समेटिएको छ । श्रेष्ठले अब चिनिया राष्ट्रपति सि जिन पिङले नेपाल भ्रमण गर्ने सम्भावना पनि बढेको बताए ।