Logo

‘मेरो सरकार’ भुलचुकमा नभई जानीबुझिकन’



काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेको भुलचुकमा नभई जानीबुझिकन भएको स्पष्ट पारेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले राष्ट्रपतिले मेरो सरकार भन्नु एकदमै ठीक भएको जिकिर गरे ।

प्रधानमन्त्री ओलीले भने,‘निरंकुशतन्त्रमा मात्र होइन लोकतन्त्रमा पनि मेरो सरकार भन्न पाइन्छ, दुनियाँभर यस्तो अभ्यास छ। पोहोर परार थिएन भने अहिलेदेखि नयाँ अभ्यास सुरू भयो। अर्को वर्ष अर्को नयाँ कुरा सुरू गर्छौं।’ उनले भारतका राष्ट्रपतिले पनि मेरो सरकार भन्ने गरेको उदाहरण दिँदै नेपालको राष्ट्रपति केही होइन भन्ने व्याख्या उचित नभएको बताए।

उनले भने,‘सपना भनेको राति मात्रै देखिने कुरा भन्ने लागेछ । देश बनाउने कुराको सपना हो, हाम्रो भविष्यको सपना हो, निदाएको बेला देख्ने सपनाको कुरा गरेको होइन, जागेरै देख्ने सपनाको कुरा गरेको हो । सहिदको सपना भनेको निदाएर देखिने सपना होइन ।’ प्रधानमन्त्री ओलीले प्रतिपक्षीले गरेको सरकारको विरोध ‘पहाड खन्दा मुसो पनि ननिस्किने’ जस्तो भएको बताए ।

उनले भने,‘प्रतिपक्षीले विरोध गर्छ तर पहाड खन्दा मुसो निस्के जस्तै भएको छ,  राष्ट्रपतिले ‘मेरो सरकार’ भनिन् भनेर आलोचना हुन्छ । विश्वका धेरै देशमा मेरो सरकार भन्ने चलन छ, जनताले मेरो सरकार भन्दा राष्ट्रपतिले किन भन्न हुँदैन ? सबैले मेरो र आफ्नो सरकार भन्नुपर्छ।’

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरको तुइन विस्थापन गरेर झोलुङ्गे पुल निर्माण गर्ने कार्यक्रमलाई तीव्रता दिइएको बताए । आव २०७६÷७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेको जिज्ञासामा आफूले दिएको जवाफबारे सांसदले राखेका थप जिज्ञाशाको सम्बोधन गर्दै उनले दार्चुलास्थित महाकाली नदीमाथि तुइन विस्थापन गरी झोलुङ्गे र पक्की पुल निर्माण गर्ने काम भइरहेको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले भने, “दार्चुलाका धौलाकोटलगायत स्थानमा तुइन विस्थापन भई झोलुङ्गे पुल बनेका छन्, सुर्केगाडमा पक्की पुल निर्माण भइरहेको छ, थप चार झोलुङ्गे पुल बोलपत्र आह्वान गरी निर्माण भइरहेका छन् ।” सशस्त्र द्वन्द्वका घाउ अन्त्य गर्नेतर्फ सरकार सचेत रहेको प्रष्ट पार्दै प्रधानमन्त्रीले द्वन्द्वमा परी घाइते भएका व्यक्तिको उपचार गर्ने र उनीहरुको सहज जिवनयापनका लागि सरकारको ध्यान गएको बताए ।

तस्विर : मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्