वैशाख ७, काठमाण्डौ । पर्वतारोही कामिरिता शेर्पाले २४ औं पटक आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
कीर्तिमानी आरोही शेर्पाले सगरमाथाको २४ औं सफल आरोहण गर्दै नयाँ कीर्तिमान राखेका छन् । एक साताअघि आफैले राखेको २३ औं पटकको कीर्तिमान उनले तोडेका हुन् ।
मंगलबार बिहान ६ : ३८ बजे कामिरिताले २४ औं सफल आरोहण सम्पन्न गरेका हुन् । उनी अघिल्लो बुधबार २३ औंपटक चुचुरोमा पुगेका थिए ।
सोलुखुम्बु जिल्लाका ४९ वर्षीय शेर्पा सेभेन समिट ट्रेक्सका तर्फबाट सगरमाथा आरोहणमा गएका हुन् ।
एकै याममा दुई पटक सगरमाथा चढ्नु नौलो कुरो होइन । कामिरिताले यस अगाडी पनि तीन आरोहण याममा दुई दुई पटक सगरमाथा चढिसकेका थिए ।
उनले चुचुरोसम्म डोरी टाँग्ने जिम्मेवारी पनि पाएकाले सन् २००९, २०१० र २०१३ मा एकै याममा दुई पटक सगरमाथा चढेका थिए ।
सन् २०१२ मा पनि उनी दुई पटक चुचुरोमा पुगेका थिए तर आधार शिविर नआईकन चौथो शिविरबाटै पुनः माथि लागेकोले त्यसले छुट्टै आरोहणको मान्यता पाएन ।