वैशाख ८, काठमाण्डौ । पाँचथरको मिक्लाजुङ गाउँपालिका – ३ आरुबोटेमा दुई परिवारको सामूहिक हत्या भएको १८ घण्टापछि मृतकहरुको शव उठाइएको छ ।
काठमाडौँबाट गएको सीआईबीको बिषेश टोली पुगेपछि शव उठाइएको हो । मृतकहरुको शव पोष्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान लगिएको छ ।
सोमबार राती ९ जनाको सामूहिक हत्या भएको थियो । मिक्लाजुङ ३ आरुबोटेको वडा कार्यलय नजिकै सो घटना भएको हो ।
हत्या हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।
१२ वर्षीया सीता खुजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् ।
९ जनाको विभत्स हत्यामा ज्वाइँ पर्ने मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।
हत्यामा संलग्न रहेको आशंका गरिएका माखिम पनि घरभन्दा झण्डै दुई घण्टाको पैदल दुरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
उनको शव रहेको स्थान नजिकै रगत पोतिएको अवस्थामा खुकरी र रगत लतपतिएकै कपडाहरु भेटिएको छ ।
तस्विर : पवन भट्टराई, धरान/www.reportersnepal.com