जेठ १८, काठमाण्डौ । पार्टी एकताको दुई बर्ष पुगे लगत्तै नेकपा भित्र सहमति कार्यान्वयनको बिषयमा आन्तरिक किचलो सुरु भएको छ । पार्टी एकताको बेलामा भएको सहमति पत्र बाहिरिनु, अध्यक्ष पुष्पकमल दाहालले प्राइम टाइम्स टेलिभिजनसँग कुरा गर्दै सहमति कार्यान्वयन गर्नुको विकल्प नभएको बताएपछि यसले तरङ्ग सृजना गरेको हो । दाहालको भनाईपछि अर्का अध्यक्ष केपी ओली पनि झस्किएका छन् ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचन्डको फरक फरक भनाइ बाहिर आएसँगै नेकपाका नेताहरु दुई धारमा विभाजन हुन थालेका छन । कतिपय नेताले सहमति अनुसार नै पार्टी अगाडि बढ्नुपर्ने जोड दिन थालेका छन भने कतीपय नेता यो बिषयमा बोल्नै चाहदैनन । नेकपाका नेता वामदेब गौतमले शुक्रबार प्रधानमन्त्रीले कि त सत्ता छाड्नुपर्ने कि त अध्यक्ष छोड्नुपर्ने बताएका थिए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका बीचमा भएको सहमतिका विशेष बुँदाअन्तरगत ४ नम्बरमा लेखिएको विषयले अहिले नेकपाभित्र खैलाबैला भएको हो । बुँदामा लेखिएको छ, समानता र समान अवधिका आधारमा आवश्यकताअनुरुप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने ।
यसले के स्पष्ट पार्छ भने ओली र दाहालले बराबर समय भाग लगाएर प्रधानमन्त्री बन्ने सहमति भएको थियो । यही सहमतिमा टेकेर दाहालले बोलेका कुराले तरङ्ग पैदा गरेको हो । उक्त सहमति तलमाथि नगरी पालना गर्न नेकपाकै वरिष्ठ नेता झलनाथ खनालले पनि जोड दिएका छन् । ओलीपछि दाहाल प्रधानमन्त्री बन्ने सहमतिको विषया के भन्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा खनालले सहमति परिवर्तन नगरी जस्ताको तस्तै पालना गर्नुपर्ने बताए ।
खनालको यो तर्कले साँढे दुई वर्षपछि आफू प्रधानमन्त्री बन्नुपर्ने दाहालको आशयलाई बल पुगेको छ । २०७५ साल जेठ २ गते गरिएको उक्त सहमतिका बेला पूर्व माओवादी केन्द्रका नेता जनार्दन शर्मा र पूर्व एमालेका नेता विष्णु पौडेल उपस्थित थिए र हस्ताक्षर पनि गरेका छन् । नेता खनालले पार्टीको महाधिवेशनसम्मका लागि सबै कुरा सहमतिकै आधारमा अघि बढ्नुको विकल्प नभएको पनि बताउनुभएको छ ।
पार्टी एकताले पूर्णता नपाउदै दुई अध्यक्षका फरक धारका कुरा बाहिर आउन थालेसङै नेकपा कमजोर बन्दै गएको बिक्ष्लेशकहरु बताउछन । केपी ओलीले अध्यक्ष पनि रहिरहन खोज्ने अनी सत्ता पनि छोड्न नखोज्नु अनी प्रचन्डले पनि सहमति विपरित जान नखोज्नुले नेकपाभित्र गम्भीर बहस सुरु भएको छ ।
प्रचण्डलाई सकस :
प्राइम टाइम्स टेलिभिजनसँगको अन्तरवार्ताले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई थप प्रश्नको ओइरो लाग्न थालेको छ । अर्का अध्यक्ष केपी ओलीसँग भएको सहमतिको विषयमा अन्तवार्तामा कुराकानी गरेपछि नेकपाभित्र पनि खैलाबैला भएको छ । तर दाहालले भने उक्त अन्तरवार्तामा बोलेको विषयलाई अनावश्यक प्रचार नगर्न आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूले पार्टी एकता हुनुअघि गरेको सहमतिको विषयमा बोलेको विषयलाई अनावश्यक प्रचार नगर्न आग्रह गर्नुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले पार्टीका नेता कार्यकर्ता, समर्थक, जनसमुदायलाई अनावश्यक प्रचार नगर्न पनि सुभाब दिनुभयो । त्यसैगरी आफूले प्राइम टाइम्स टेलिभिजनमा दिएको अन्तवारताृको विषयलाई लिएर आरोप प्रत्यारोपमा नउत्रन पनि दाहालले आग्रह गर्नुभएको छ ।
टेलिभिजनमा भनिएको सहमतिको विषय पहिले नै सार्वजनिक भइसकेको दाहालको भनाई थियो ।
आफूले बोलेको विषयमा प्रधानमन्त्री तथा केपी शर्मा ओलीले दिल्लीमा दिएको अभिव्यक्ति प्रतिकात्मक भएको दाहालको भनाइ छ । पार्टी एकताको संन्दर्भमा भएका सहमतिको स्मरण मात्रै आफूले गरेको तर, बाहिर कोकोहोलो र प्रचारबाजी भएको उहाँको भनाइ छ । आगामी महाधिवेशनबाट सहमतिमा अध्यक्ष हुने नहुने भन्ने विषय पार्टीले निर्णय गर्ने कुरा बताउँदै उहाँले पार्टी एकताको सन्दर्भमा भएका सहमति भने इमान्दारीताका साथ पालना हुने विश्वास व्यक्त गर्नुभयो ।
आफूले गरेको कुराले र भएका प्रचारबाजीले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आफ्नो सम्बन्ध अझ सुदृढ भएको उहाँको दाबी थियो ।
२० गते बस्ने पार्टी सचिवालयको बैठकले कार्यविभाजनसम्बन्धी आवश्यक निर्णय गर्ने जानकारी दिँदै दाहालले भोलि प्रस्तावलाई अन्तिम रुप दिन दुवै अध्यक्षबीच छलफल हुने र अन्तिम रुप दिइने बताउनु भयो ।
दाहालले अबको १५ महिनापछि केपी शर्मा ओलीले आफूलाई सत्ता हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । उक्त अभिव्यक्तिले नेपालको राजनीतिमा तरङ्ग पैदा भएको छ । दाहालको यो भनाईले ओली पनि अप्ठ्यारोमा परेको कतिपयको विश्लेषण छ । अझ प्रचण्डले पार्टी एकता हुँदाखेरि गरिएको सहमतिबाट कसैले दायाँ वायाँ गर्न खोजेमा या धेरै घमण्ड गरेमा कोही पनि नटिक्ने चेतावनी दिएपछि ओलीको मनमा चस्का पसेको छ ।