Logo

कर तिर्ने १९२ पेन्सनवाला



राष्ट्रसेवा गरेर सेवानिवृत्त भएकामध्ये सबैभन्दा बढी पेन्सन पाउनेमा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मी हुन् । चुनावी मन्त्रिपरिषद्का अध्यक्ष समेत रहेर पूर्व प्रधानन्यायधीशबाट २०७० सालमा राजीनामा दिएका रेग्मी मासिक ६० हजार एक सय ६१ रुपैयाँ पेन्सन बुझ्दै आएका छन् । मासिक ६० हजारभन्दा बढी पेन्सन पाउने रेग्मी एकमात्र व्यक्ति हुन् । नेपालको इतिहासमा प्रधानन्यायाधीश र मन्त्रिपरिषद्को अध्यक्ष समेत हुने एकमात्र व्यक्तिका रुपमा नाम लेखाएका रेग्मी लामो समय न्याय सेवामा कार्यरत रहेका थिए ।

निवृत्तिभरण व्यवस्थापन कार्यालयका अनुसार सबैभन्दा बढी पेन्सन बुझ्नेमा न्याय सेवाबाट निवृत्त हुनेहरु छन् । सबैभन्दा बढी पेन्सन पाउनेहरुको सूचीको १५ औं स्थानसम्म पूर्व प्रधानन्यायधीशहरु छन् । पूर्व प्रधानन्यायाधीश दिलिप कुमार पौडेल दोस्रो स्थानमा छन् । उनको पेन्सन मासिक ५९ हजार ६ सय ८७ छ । सुशीला कार्की सुवेदी तेस्रो नम्बरमा छिन् । उनी ५८ हजार ९ सय ४४ बुझ्छिन् । त्यसपछि बढी पेन्सन पाउनेमा पूर्व न्यायाधीशहरु केशव प्रसाद उपाध्याय, हरि प्रसाद शर्मा गौतम, केदारनाथ उपाध्याय, सुरेन्द्र प्रसाद सिंह, कल्याण श्रेष्ठ, ओम भक्त श्रेष्ठ र मोहन प्रसाद शर्मा छन् ।

पूर्व प्रधानन्यायाधीशहरु पछि न्यायाधीशहरु बढी पेन्सन पाउनेमा पर्छन् । त्यसपछि पूर्व मुख्यसचिव, विशिष्ट सचिव, संवैधानिक प्रमुख पदाधिाकरी, पूर्व प्रधानसेनापति, सचिव, पूर्व रथी, पूर्व प्रहरी महानीरिक्षकहरु बढी पेन्सन पाउनेमा पर्छन् । न्याय सेवा, निजामती र सुरक्षा निकायको उच्च पदमा पुगेकाहरुको पेन्सन ४० हजारभन्दा माथि छ । मासिक ३८ हजारभन्दा बढी पेन्सन बुझ्ने कुल एक सय ९२ जनाले राज्यलाई कर समेत तिर्दै आएका छन् । पेन्सनमा कर लगाएकोबारे धेरै पेन्सन बुझ्नेले गुनासो गर्दै आएका छन् ।

२०७५ साल कात्तिक १३ सम्मको तथ्यांक अनुसार नेपाल सरकार अन्र्तगतको निकायमा सेवा पु¥याएका कुल दुई लाख ५५ हजार तीन सय ९८ जना पेन्सनवाला रहेको निवृत्तिभरण व्यवस्थापन कार्यालयले जनाएको छ । जसमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, राष्ट्रिय शतर्कता केन्द्र, अन्र्तगतका कर्मचारी र शिक्षा सेवा आयोग अन्र्तगतका शिक्षक रहेका छन् ।

दीर्घजीवी पेन्सनवाला

सेवानिवृत्त भएको ५० वर्ष पुगिसकेका अनिरुद्रप्रसाद सिंह राजदूत पेन्सनवाला हुन् । २०२५ सालमा सेवानिवृत्त भएका उनले २०४२ सालसम्म तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको प्रमुख आयुक्तका रुपमा समेत जिम्मेवारी सम्हालेका थिए । राजीनामा दिएपछि सोही वर्ष पेन्सनपट्टा बनाएको निवृत्तिभरण कार्यालयको रेकर्डमा देखिन्छ ।

बढी पेन्सन पाउने सूचीमा रहेकामध्ये नयनबहादुर खत्रीको हालै निधन भएको छ । एक सय वर्ष बाँचेका पेन्सनवाला थिए खत्री । पूर्व प्रधानन्यायाधीश खत्री बढी पेन्सन पाउनेमध्येको सूचीमा १३ औं स्थानमा पर्दथे । उनको मासिक पेन्सन ५३ हजार ८ सय १० रुपैयाँ थियो ।
सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा सरकारी सेवामा रहेकाको तलब वृद्धि गरेपछि सेवा निवृत्तको समेत पेन्सन बढ्ने भएबाट कर तिर्ने पेन्सनवालाको संख्या बढ्ने भएको छ । साउन देखि नयाँ तलब स्केल तय भएपछि पेन्सन बढ्न जाँदा कतिपयले कर तिर्नुपर्ने हुन्छ ।

बढी पेन्सनवालाको वरियता क्रम

क्र.सं. नाम
१ खिल राज रेग्मी
२ दिलिप कुमार पौडेल
३ सुशिला कार्की सुवेदी
४ केशव प्रसाद उपाध्याय
५ हरि प्रसाद शर्मा गौतम
६ केदारनाथ उपाध्याय दाहाल
७ सुरेन्द्र प्रसाद सिंह
८ कल्याण श्रेष्ठ
९ ओम भक्त श्रेष्ठ
१० मोहन प्रसाद शर्मा

स्रोतः निवृत्तिभरण व्यवस्थापन कार्यालय, काठमाडौं २०७६



प्रतिक्रिया दिनुहोस्