Logo

एकदिवसीय विश्वकप क्रिकेट : अस्ट्रेलियाको लगातार दोस्रो जित



काठमाडौं, २४ जेठ । इङ्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । गएराति नटिङघममा भएको खेलमा अस्ट्रेलियाले वेष्ट इण्डिजलाई १५ रनले हरायो ।

खेलमा अष्ट्रेलियाले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७३ रन मात्र बनाउन सक्यो । उसका लागि साई होप र कप्तान जेसन होल्डरले अर्ध शतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् ।

होपले ६८ रनको योगदान दिंदा होल्डरले ५१ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा १ मेडनसहित ४६ रन खर्चेर ५ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २ सय ८८ रन बनाएको थियो । उसका लागि नाथन कुल्टर नाइलले ९२ रन तथा स्टिभ स्मिथले ७३ रनको पारी खेले । जितसंगै अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ ।

पहिलो खेलमा पाकिस्तानलाई ७ विकेटले नै हराएकोे वेष्ट इण्डिजको भने प्रतियोगितामा यो पहिलो हार हो । विश्वकप क्रिकेटमा आज पाकिस्तान र श्रीलंका भिड्नेछन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्